|

बैतडी : दोस्रो चरणमा गर्ने निर्वाचन हुन भएपछि बैतडीलगायत प्रदेश नं ७ मा चुनावी गतिविधि सुस्त भएको छ। वैशाख ३१ गते हुने भनिएको निर्वाचन जेठ ३१ मा सरेपछि राजनीतिक दलका नेता तथा कार्यकर्ताका गतिविधि सुस्त भएको हो।

‘गाउँसहर निर्वाचनमय भइसकेको थियो’, दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले भने, ‘जेठ ३१ मा निर्वाचन सरेपछि निराशा छाएको छ।’ जेठ ३१ मा निर्वाचन हुने भएपछि वैशाख १२ गतेदेखि दशओटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य पनि आयोगले अर्को निर्णय नगर्दासम्मका लागि रोकिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले बताए। ‘वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ’, उनले भने।

पहिलो चरणको निर्वाचनका लागि तयारीमा रहेका दल दोस्रो चरणमा निर्वाचन हुने भएपछि चुनावी अभियानलाई विश्राम दिएका छन्। बैतडीमा दोस्रो चरणमा निर्वाचन हुने भएपछि उम्मेदवार छनोटको कसरतमा लागिरहेका दल अब बिस्तारै उम्मेदवार छान्ने मनस्थितिमा पुगेका छन्। जेठ ३१ मा चुनाव हुने भएपछि उम्मेदवार छनोट प्रक्रिया बिस्तारै थाल्ने कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए। 

यस्तै, राप्रपाले पनि उम्मेदार छनोट कार्यलाई बिस्तारै गर्ने जनाएको छ। पहिलो चरणमा बैतडीमा चुनाव नहुने भएकाले दोस्रो चरणका लागि बिस्तारै उम्मेदवारको टुङ्गो लगाउने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले बताए। माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले सरकारले चुनावको मिति सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताए। 

सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने भएपछि गाउँघरमा बढेको चुनावी सरगर्मी एक्कासि घटेको दोगडाकेदार–३ श्रीकोटका वीर सिंह भाटले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.