|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : भूकम्पले क्षति पु¥याएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसक्दा पनि दुई वर्षदेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न सकेको छैन। अरनिको राजमार्ग र मितेरी पुलदेखि चीनको न्यालाम सम्मको सडक साविककै अवस्थामा फर्कंदासमेत चीनले चासो नदेखाएकै कारण नाका पुनः सुचारु हुन नसकेको हो।

बन्द रहेको तातोपानी नाका खुलाउन नेपाल–चीन बीचका उच्च अधिकारीहरुको सीमा सुरक्षा बैठक पटक–पटक बसिसकेको छ। बैठकमा चीनका अधिकारीले सडकमा क्षति पुगेको कारण देखाउँदै आएका थिए। अहिले सडक निर्माण भइसक्दा पनि नाका सूचारु गराउनेबारे चीन मौन बस्नुले पनि नाका खुल्नेका अन्योल देखिन्छ।

भूकम्पले चिरा पारेको सीमावर्ती क्षेत्र तातोपानीदेखि न्यालमको सडक पुनर्निर्माण सकिएको छ। अरनिको राजमार्गको बाह्रबिसेदेखि लिपिङसम्म र झाङ्मु पुलदेखि तिब्बतको न्यालमसम्म आवतजावत गर्ने सडक बनिसक्दा पनि चीनले चासो नदेखाउनुमा अरु कुनै कारण हुन सक्ने अध्यागमन कार्यालय लिपिङका एक कर्मचारी बताउँछन्।

उनकाअनुसार यो नाका सुचारु हुँदा ‘फ्रि तिब्बत’ गतिविधि हुन सक्ने आशंकाले पनि चीनले चासो नदेखाएको हो। नाका सुचारु नहुँदा दैनिक डेढ करोडको हाराहारीमा राजस्व संकलन गर्ने तातोपानी भन्सारमा प्रभाव परेको छ। अरनिको राजमार्गमा समेत दैनिक ३५ लाखभन्दा बढीको व्यापारिक कारोबार हुने गर्दथ्यो।

मितेरी पुलमै रहेर व्यापार गर्ने झन्डै चार हजार व्यापारी विस्थापित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ बताउँछन्। ‘हामी मानसिक, आर्थिक तथा सामाजिक रुपमा यो नाकाबाट व्यापार गर्न तयार छौं,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘भौतिक लगायत सबै काम सम्पन्न गरेर हामी नाका खुल्ने दिन पर्खिरहेका छौं।’

तिब्बतको न्यालमबाट सिधै तातोपानीको लार्चामा निर्माणाधीन बन्दरगाहसम्म व्यापारिक सामान ओराल्ने रणनीति लिएर चीनले आवश्यक भौतिक पूर्वाधार तयार गर्न सुरु गरेको थियो। अहिले चीनले सुरु गरेका सबै काम सम्पन्न भइसकेका छन्। चीनले न्यालमममा भन्सार, अध्यागमन र क्वारेन्टाइन कार्यालय बनाइसकेको छ। नेपालतर्फ भौतिक पूर्वाधार निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल बताउँछन्।

‘छिट्टै नाका सुचारु गर्न हामीले भन्सार कार्यालयको भवन मर्मत गरिसकेका छौं, अध्यागमन, क्वारेन्टाइन, सुरक्षा निकायका कार्यालय तयारी अवस्थामा छन्’ प्रजिअ सिलवालले भने, ‘हामीमा कुनै समस्या छैन, चीनले चाहेमा अब छिट्टै नाका सूचारु हुन्छ।’ दुवैतर्फका भौतिक पूर्वाधार तयार भइसके पनि नाका खुल्ने निश्चित मिति तय नभएको उनी बताउँछन्।

तातोपानी र खासाका स्थानीय नाका खुल्नेमा आशावादी छन्। नाका खुलाउन नेपाल–चीन सरकारका उच्च अधिकारीबीच पटक–पटक राजधानी, सिन्धुपाल्चोक र चीनमै पनि छलफल भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा यो नाका खुलाउने एजेन्डा लगेका थिए। यसअघि राजधानीमा भएको छलफलमा चिनियाँ उपविदेश मन्त्री ली छिपाओले तातोपानी नाका छिट्टै खुल्ने बताएका थिए।

नाका सञ्चालनका लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन र सुरक्षा निकायको सयुंक्त टोली भूकम्पपछि ६ पटक औपचारिक बैठक बसिसकेको छ। पछिल्लो बैठकमा चिनियाँ जनमुक्ति सेनाका कोलेनेल वाङले सीमा सुरक्षाप्रति बढी चासो राखेका थिए। ‘तत्काल नाका खोल्नेबारे पछिल्लो बैठकमा चिनियाँ अधिकारी मौन देखिएका थिए,’ प्रजिअ अन्तरबहादुरले भने, ‘बैठकमा हामीले नाका खुलाउँदा केही फरक नपर्ने कुरा राख्यौं, नाका खुलेमा उच्च सुरक्षा सतर्कता अपनाउने प्रतिबद्धता हामीले जनाएका थियौं।’

भूकम्पले चिरा पारेका नेपाल पक्षकै सडक निर्माण पनि चीन सरकारको सहयोगबाट भएको थियो। मितेरी पुलदेखि खासा सम्मको १५ किलोमिटर सडकको पुनर्निर्माण चीन सरकारले तीव्र रुपमा गरेको थियो। चीन सरकारले न्यालाममा आवश्यक सबै कार्यालय स्थापना गरिसक्दा पनि नाका सुचारु नहुँदा सीमावासी, व्यापारीलगायत सबै अन्योलमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.