|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमा राष्ट्रिय सहमतिको सरकार भन्दा बलियो प्रतिपक्षी सहितको सरकार उपयुक्त हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्तावमाथि बोल्दै उनले सरकारलाई मनपरी गर्न नदिनकै लागि पनि बलियो प्रतिपक्षी चाहिने बताएका हुन्।

राष्ट्रिय सहमति र राष्ट्रिय सरकार फरक कुरा हो। हामी सबै सरकारमा गयौं भने बाँडीचुँडी खाए भइहाल्यो नि त्यसकारण अपोजिसन भनेकै मनपरी गर्न नदिनलाई हो'  सभापति देउवाले भने 'सत्ता भनेकै निरंकुश हुन चाहन्छ त्यसका लागि अपोजिस चाहिन्छ।' सभापति देउवाले सजिलो गरी सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरे।

प्रजातन्त्रमा विश्वास अविश्वास भइरहने र शान्तिपूर्ण तरिकाले सत्ता बदलिनु सामन्य हो भन्दै उनले यसले प्रजातन्त्रलाई झन् बलियो बनाउने बताए। 'यो प्रजातान्त्रिक पद्धति हो। यसले प्रजातन्त्रलाई बलियो नै बनाउनुपर्छ। यो हाम्रो देशको ब्युटी नै हो। खराब कुरा होइन' देउवाले भने।

सभापति देउवाले संसदबाट अस्वीकृत भएको बजेट सम्बन्धी आश्रित विधेयकहरु अझै राम्रोगरी ल्याउने बताएका छन्। अहिलेको सरकारले गरेको अन्तर्राष्ट्रिय सन्धी सम्झौता लागू गराउने पनि विश्वास दिलाएका छन्। उनले सरकारले भूकम्प पीडितका लागि केही गर्न नसक्दा अझै पानीमा भिजिरहनुपरेको बताए।

संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तिक र केन्द्रीय निर्वाचन गर्नुपर्ने र मधेसमा आन्दोलनरत पक्षको माग पूरा गर्नुपर्ने सभापति देउवाले बताए। 'मधेसवादी दललाई सहमतिमा ल्याउन सकेमा चुनाव सम्भव छ । नभए चुनाव सजिलै सम्भव छैन' उनले भने 'दलहरुसँग वार्ता गरेर सबै दलको सहमतिमा संविधान कार्यान्वयनका लागि संविधान संशोधन गरेर भएपनि मधेसवादी दललाई ल्याउने काम हुन्छ। मधेसवादी दल सहमतिमा आएर सहयोग गरे नेपाल राम्रो र सभ्य देशको रुपमा अघि बढ्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.