|

म्याग्दी : धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ। म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्ययन तथा अध्यापन गराउन लागिएको हो।

यसैक्रममा हिजो (शुक्रबार) म्याग्दी जिल्लामा क्रियाशील पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गरी म्याग्दी बहुमुखी क्याम्पसले सञ्चालन गर्न लागेको सूचना, प्रविधि विषयको बारेमा अन्तरक्रिया र छलफल गरिएको छ। साविक धौलागिरिमै पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले सूचना तथा प्रविधिको क्षेत्रमा अध्यापन गराउने मौका पाएको हो।

प्राविधिक शिक्षाका लागि ठूला सहर तथा विदेशमा जाने चलन बढिरहेको समयमा म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै स्नातक तहमा कम्प्युटर तथा सूचना, प्रविधि (बिआईसिटीई)को विषयमा अध्ययनको अवसर जुराएको हो।

जिल्लाको विभिन्न विद्यालयहरुमा विज्ञान, गणित, कम्प्युटर जस्ता प्राविधिक विषयहरु पढाउने शिक्षकहरुको अभाव भैरहेको बेला म्याग्दी क्याम्पसले एकैपटक दुईवटा विषयको सम्बन्धन प्राप्त गरेको जनाएको छ। बिआईसिटीई र बिएड साइन्स अध्ययन गर्न प्रवेश परीक्षाको लागि आवेदन खुलाइएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए।

समेस्टर प्रणालीमा अध्ययन तथा अध्यापन हुने कम्प्युटर प्रविधिको विषयमा ४० प्रतिशत आन्तरिक तथा ६० प्रतिशत लिखित परीक्षा हुने सूचना अधिकारी समेत रहनुभएका सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिए।

बिआईसिटीई विषयमा अध्ययन गर्नका लागि यही फागुन १० गतेसम्म प्रवेश परीक्षाको आवेदन दिन सकिने समय तोकिएको छ भने १५ गतेसम्म डबल दस्तुर तिरेर आवेदन दिन सकिन्छ। अहिले प्रवेश परीक्षाको लागि विद्यार्थीहरुले धमाधम फाराम भरिरहेका  छन् भने १८ गते प्रवेश परीक्षाको मिति तोकिएको क्याम्पसले जनाएको छ।

अन्तरक्रिया कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुुङ्गानाले जिल्लाको शैक्षिक विकासका लागि क्याम्पसले सबैको साथ लिएर अगाडि बढ्ने उद्देश्य लिएको बताउँदै शैक्षिक, भौतिक पूर्वाधारको विकास एवं तहगत र विषयगत रुपमा क्याम्पसलाई विकास गर्दै लैजाने योजना सुनाए। 
उनले युवाहरुको बढ्दो विदेश पलायनलाई रोक्न, जिल्लामै रोजगारी सिर्जना गर्ने र प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताउँदै क्याम्पसको विकासका लागि विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिए। 

बिआईसिटीई अध्ययनका गर्नका लागि जुनसुकै विषयमा कक्षा १२ उत्तीण गरी न्युनतम २ दशमलव शुन्य १ अर्थात् ‘सी’ जिपिए प्राप्त गरेको विद्यार्थीले आवेदन दिन सक्नेछन्। चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन र अध्यापन गराइनेछ। बिआईसिटीई उत्तीर्ण भएका विद्यार्थीलाई सरकारी तथा गैरसरकारी संस्थामा आईटी अफिसर, विद्यालयमा आईटी शिक्षक, सफ्टवेयर डेभलपरसहित सूचना र सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिमा समेत सघाउने जनाइएको छ।

जिल्लाभित्र आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सघाउने भएकाले सबै स्थानीय तहलाई जानकारीसहित भर्ना अभियानमा साथ दिन समेत अनुरोध गरिएको छ। भावी दिनमा जिल्लाको आवश्यकता तथा विद्यार्थीको रुचि, क्षमता र करिअरमा मेल खाने पाठ्यक्रम लागू गर्नेगरी योजना बनाइएको छ। 

सबैको साथ र सहयोगबाट क्याम्पसको शैक्षिक वृद्धि हासिल गर्न सकिने भएकाले म्याग्दी बहुमुखी क्याम्पसलाई प्राज्ञिक तथा शैक्षिक उन्नयनको थलोका रुपमा विकास गर्नुपर्ने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए। उनले समसामयिक विषयहरुमा विभिन्न समयमा सरोकारवालाहरुबीच अन्तरक्रिया र छलफल गरेर निचोड निकाल्नुपर्नेमा जोड दिए।

दुई वर्षअघि विश्वविद्यालय अनुदान आयोगबाट क्युएएको प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले यसअघि स्नातकोत्तर तहको व्यवस्थापन सङ्कायमा समेस्टर तथा यस वर्षदेखि स्नातक तहमा बिआईसिटीई विषयमा सेमेस्टर प्रणाली र बिएडतर्फ वार्षिक प्रणालीअनुसार विज्ञान शिक्षाको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। 

२०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुईदेखि स्नातकोत्तर तहसम्म विभिन्न विषयमा पढाई हुँदै आइरहेको छ भने करिब १४ सयजना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.