|

पोखरा : कास्कीको पोखरा-लेखनाथ महानगरपालिकाको प्रमुखको उम्मेदवारका लागि नेपाली कांग्रेसले ३२ जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय समिति र जिल्ला समितिले आकांक्षीहरूको व्यवस्थापन गर्न नसकेपछि सबैको नाम केन्द्रीय कार्यसमितिलाई पठाएको हो।

महानगरपालिका प्रमुखको उम्मेदवारका लागि ३२ जना र उपप्रमुखका लागि १५ जनाको नाम केन्द्रमा पठाइएको कांग्रेसका जिल्ला सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए। 'हामीले क्षेत्रीय समितिबाट टुंग्याउन सकेनौं। त्यसैले केन्द्रमा नै सिफारिस गर्‍यौं' उनले भने, 'जिल्लाका अरु चार गाउँपालिकामा भने प्रमुख पदका उम्मेदवार टुंगिएको छ। दुई चारवटा वडाका कारणले घोषणा गरेका छैनौं। सबै टुंगिएपछि घोषणा गर्छौं।'

पोखरा-लेखनाथ महानगरपालिकामा धेरै जनाको नाम सिफारिस भए पनि महासमिति सदस्य देवराज चालिसे र ट्रेड युनियन कांग्रेसका सचिव रामजी कुँवरको सम्भावना बढी रहेको कांग्रेस स्रोत बताउँछ।

महानगरपालिकामा उम्मेदवार चयनका लागि नेकपा एमालेले भने मतदन गरेको थियो। मतदानमा वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसी र कृष्ण थापाले धेरै मत प्राप्त गरेका थिए। तिनीहरुमध्ये एक जना महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्ने करिब पक्का भएको छ।

माओवादीको करिब टुंगियो

त्यस्तै नेकपा एमालेले पनि उम्मेदवार करिब टुंगो लगाएको छ। माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछाने र दीपक कोइरालाको चर्चा बढी छ। यीमध्ये लामिछानेको सम्भावना बढी रहेको माओवादी स्रोत बताउँछ। उनी पोखरा नगर विकास समितिको सभापति भएर काम गरिसकेका छन्। कोइराला भने हाल माओवादी केन्द्रको कास्की जिल्ला इन्चार्ज हुन्।

माओवादी केन्द्रले महानगरपालिकामा तालमेलका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफल गरिरहेको छ। अहिले दुबै पार्टीसँग वार्ता चलिरहेकाले कुन पार्टीसँग तालमेल गर्ने भन्ने टुंगो लागिनसकेको माओवादी स्रोत बताउँछ। माओवादीले कांग्रेसलाई प्रमुख पद दिएर उपप्रमुख लिने गरी वार्ता चलेको स्रोतको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.