|

बुटवल : लुम्बिनी प्रदेश सरकार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज हुने भएको छ।

गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद सहित मन्त्री पद खारेजीमा परेको हो।

२०७८ साल वैशाख २० गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएसँगै उनलाई पार्टी निर्णयविपरीत मन्त्री बन्न पुगेको भन्दै उनी निर्वाचित भएको जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसारको जसपाको पत्रका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले रायमाझीसँगै तत्कालीन सरकारमा सहभागी जसपाका सांसदहरू सन्तोष पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादवलाई पदमुक्त गरेका थिए।

सभामुखको निर्णय विरुद्ध सर्वोच्चमा रिट हाल्न पुगेका रायमाझी सहित ४ प्रदेशसभा सदस्यको मुद्दाका सम्बन्धमा रायमाझीले आफू वा वारेस समेत उपस्थित नभई २०७८ भाद्र १७ गतेको म्याद गुजारेको साथै म्याद थाम्ने थमाउने म्याद नरहेको भन्दै अदालतले रायमाझीको मुद्दा तामेलीमा हालिदिएको हो।

सभामुखको पदमुक्तको निर्णयविरुद्ध अदालतमा रिट विचाराधीन रहकै अवस्थामा रायमाझी पुनः केसी नेतृत्वको सरकारमा समावेश भएपछि पार्टीले उनीमाथिको कारबाही फुकुवा गरेको थियो।

फुकुवा भएको कागजात समेत अदालतमा पेश नगरेपछि तथा म्यादमा उपस्थित समेत नभएकै कारण उनको पद गुमेको बताइएको छ।

प्रदेशसभा सदस्यको हैसियतले मन्त्री पदमा नियुक्त भएको अवस्थामा रायमाझीको मन्त्री पद समेत खारेज हुने अधिवक्ता सालिकराम सापकोटाले बताए।

‘स्वतन्त्र हैसियतले मन्त्री हुँदाको अवस्थामा ६ महिना मन्त्री पदमा बहाल रहन पाए पनि प्रदेशसभा सदस्यका हैसियतले मन्त्री नियुक्त भएको भए मन्त्री पद पनि जान्छ’, अधिवक्ता सापकोटाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.