|

पुरानो व्यवस्थाले काठमाडौँलाई मात्र नेपाल ठान्यो। एकात्मक संरचनाले शासकलाई शोषक बनायो, तर गरिबलाई झन दासमा परिणत गरिदियो। सबै वर्गीय, क्षेत्रीय र लैङ्गिक असमानता अन्त्य गर्न भन्दै दस वर्ष जनयुद्ध र उसैको जगमा भएको१९ दिने जनआन्दोलनको भेलबाट दशकौँदेखि नेपाली जनतामाथि एकछ्त्र हुकुम लाद्ने राजतन्त्रको अवसान भयो। यो व्यवस्थालाई जरैदेखि निर्मूल पार्नुपर्छ भनेर तातो सडकमा रगतको खोला बग्यो। परन्तु, त्यो रक्तभेलबाट प्राप्त उपलब्धिहरू दरबार र उसका सुसारेहरूलाई अपच बनेको छ। इतिहासमा देशलाई निर्मम तवरले क्रुरता, अमानवीयता र उपेक्षाशिवाय कुनै उपहार नदिएको एकात्मक राज्य व्यवस्था नै ठीक थियो जस्तो भएको छ।

जसोतसो चुह्लो बलेकै थियो, काम चलेकै थियो। पहुँच हुनेले नदीनाला बेचेरै भए पनि कुम्ल्याएका थिए भने नहुनेले जिन्दगीभर हलिया, कमैया र रैती बनेर भए पनि गुजारा चलाएकै थिए। न चक्काजाम, न आन्दोलन, न त यो कुइरीमण्डल अन्योल! हो, यो मनोदशाबाट ग्रस्त हाम्रो समाजमा वर्तमान एमालेको उखरमाउलो राष्ट्रवादले गतिलो मलजल गरेको छ। साथै नागार्जुनभित्रको चहलपहल बढाउन पनि यो कथित राष्ट्रवादले भरमग्दुर साथ दिएको छ।

बिस्तारै पुरानै व्यवस्थामा फर्किन चाहेका राजावादी, काङ्ग्रेस र पुरानो व्यवस्थाका सुसारेहरू भन्दा पनि आफूलाई कैलाश पर्वतको पञ्चामृतले नुहाएको कम्युनिष्ट ठान्ने एमाले त्यहाँ पुग्न हतारिएको छ। शान्ति प्रक्रियाको मीठो फल संविधान कार्यान्वयनको विन्दुसम्म आइपुग्दा एमालेबाहेक निकासको बाधक सायदै बनेका छन्। राजावदीहरूले समेत संघीय गणतन्त्र नेपाल स्वीकार गरिसकेको अवस्थामा संसदको जिम्मेवार दोस्रो ठूलो दल एवं कम्नियुष्टको झण्डा बोकेको एमाले भने कहिले बाध्यतामा मान्नुपरेको त कहिले माओवादीको लागि मानिदिएको वकालत गर्दै छ।

मधेसलाई अचानो बनाएर अहिले एमालेले जस-जसको पृष्ठपोषण गर्न खोजेको छ, भोलिका दिनमा त्यो नै एमालेको लागि प्रत्युत्पादक सावित हुनेछ। दिल्ली, मोदी र लैनचौरसँगको रिस उदार विचार राख्ने नेपाली जनता र नेपालका मधेसीहरूसँग पोखेर के हुन्छ? नेपाली नेताहरूले दिल्ली र बेइजिङको दूरी नापेर राजनीति गर्ने होइन, नेपाली-नेपालीबीच दूरी घटाउने राजनीति गर्नु श्रेयष्कर हुनेछ।  

राजनीति विचार र विवेक प्रयाेग गरेर गर्ने हाे, युद्ध र हत्या त सिरियामा पनि भएकै छ! राम्रो सिकाउनेहरू नै काेही आँखा  झिकिन्छ भन्छन् ,काेही रगतकाे खाेलाे बगाउन तयार छौँ भन्छन्! यस्तै खाले उखारमाउलो राष्ट्रवादलाई शिरोपर गर्दै जाने हो भने भविष्यको भड्खालोमा यिनी वा तिमी होइन, हामीसँगै सबै उपलब्धिहरू पुरिनेछन्।

देशमा राजनीतिक सङ्क्रमणकाल लम्बिँदा अराजक तत्त्वहरूबाट आपराधिक घटनाहरू मौलाउँदै गइरहेको हामी सबैलाई विदितै छ। आज हामीमा मानवीय सद्भाव हराउँदै छ। मधेसलाई बिहार देख्ने, पहाडलाई कुमाउँ-गढवाल देख्ने र हिमाललाई चीन, तिब्बत देख्ने अनि हामीले नेपाल र नेपाली कहाँ खोज्ने? यस्ता नकारात्मक भावनाहरू सिर्जना हुनु राजनीतिक अस्थिताको उपज हो। अब ती सबै विभाजित मनहरूलाई एकीकृत गर्दै नेपाल र नेपाली भई सहर्ष बाँच्न पाउने वातावरण बनाउँदै राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउँदै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्नु नै राजनीतिक नेतृत्वहरूको पहिलो काम हो।

विभिन्न परिवर्तनहरूलाई प्रदूषित गर्दै आफ्ना स-साना स्वार्थहरू पूरा गर्दै, आपसमा लड्दै भिड्दै आरोप प्रत्याआरोप लगाउँदै मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्नु कदापि शोभनीय होइन। शासन व्यवस्थाका अन्तिम र निर्णायक जनता नै हुन्।

त्यसैले संघात्मक व्यवस्था लागू गर्दै, लैङ्गिक हकअधिकार सुनिश्चित गर्दै, उत्पीडित समुदायलाई राज्यमा सहज पहुँच पुर्‍याउँदै, सम्पूर्ण धर्म संस्कृतिलाई सम्मान गर्दै  मान्छे-मान्छे एकआपसमा सद्भाव हुने वातावरण सिर्जना गर्दै छिटोभन्दा छिटो संविधानलाई कार्यान्वयन गरी राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनु नै अहिलेको प्रमुख दायित्व हो। अन्यथा, ज्ञानेन्द्र शाहको धमिलो पानीमा माछा मार्ने दुस्साहसले सफलता पाउँदैन भन्न सकिन्न। शक्ति छ भन्दैमा अादर्शको राजनीति त्याग नगर्दा सबैको भलो हुनेछ। शक्तिको दुरूपयोग नगर, अमुक व्यक्तिलाई दोषारोपण गरेर जनता भड्काउने काम नगर!

राजनीति विचार र विवेक प्रयाेग गरेर गर्ने हाे, युद्ध र हत्या त सिरियामा पनि भएकै छ! राम्रो सिकाउनेहरू नै काेही आँखा  झिकिन्छ भन्छन् ,काेही रगतकाे खाेलाे बगाउन तयार छौँ भन्छन्! यस्तै खाले उखारमाउलो राष्ट्रवादलाई शिरोपर गर्दै जाने हो भने भविष्यको भड्खालोमा यिनी वा तिमी होइन, हामीसँगै सबै उपलब्धिहरू पुरिनेछन्।पहिला गलत अाचरण परिवर्तन गर! अाचरण परिवर्तन नभएसम्म देश परिवर्तन हुनेवाला छैन!

दलगत दम्भ, अन्योल र अकर्मण्यताको फाइदा लिएर सलबलाएका ज्ञानेन्द्रले देशको स्थिति नाजुक देखेर दु:ख व्यक्त गरेका होइनन्। उनी त सत्तामोहको तिम्रो उखरमाउलो राष्ट्रवादले जनतामा पारेको संकीर्णताको मुनाफा लिनका लागि हिजो जे चिताएका थिए, आज उही हुनजान्छ क्यारे भनेर हौसिएका मात्र हुन्। तसर्थ जिम्मेवार दलको हैसियतले समस्या तेर्स्याएर मात्र होइन, समाधान गर्नसमेत उत्सुकता देखाउन जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.