|

काठमाडौं : संविधान संशोधन नगरी पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने भएको छ। संविधान संशोधन विधेयक टुंगो नलगाई संसद बैठक चार दिन स्थगित भएपछि अब संशोधन विना नै उम्मेदवारी दर्ता हुने भएको हो।

वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय वैशाख १९ गतेसम्म मात्र तोकिएको छ। तर संसद बैठक भने वैशाख २१ गतेलाई बोलाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि मात्र संविधान संशोधन विधेयकको विषयमा छलफल हुने जानकारी दिए। 'सबैले नोमिनेसन गरेर आउने वैशाख ३१ गते निर्वाचन हुन्छ, अब कुनै खालको कन्फ्युजनमा पर्न जरुरी छैन' उनले भने 'नोमिनेसनका लागि सबै माननीय सदस्यहरु पनि सहभागी हुने वातावरण बनाउनका लागि संसद बैठक २१ गतेसम्मका लागि स्थगित गरिएको हो।'

प्रधानमन्त्री प्रचण्डले अब निर्वाचनको तयारी गर्दै संविधान संशोधनको विषयमा छलफल गर्ने बताए। 'पहिला नोमिनेसन गर्ने त्यसपछि छलफल गर्दे जाने वातावरण बनेको छ' उनले भने 'मधेसी मोर्चा पनि निर्वाचनमा आउने स्थिति बनेको छ।'

उर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संविधान संशोधन विधेयकका विषयमा छलफल बाँकी नै रहेकाले संसद बैठक स्थगित भएको जानकारी दिए। 'कसरी सहमति गर्ने भनेर नै स्थगित भएको होला' उनले भने। 

माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्ररेलले उम्मेदवारी दर्तालाई सहयोग गर्नकै लागि संसद स्थगित गरिएको जानकारी दिए। 'चुनाव तोकिएको मितिमै हुन्छ। संशोधन प्रस्ताव पास भएको भए पहिलो चरणको चुनावलाई पनि सजिलो हुन्थ्यो तर पहिलो चरणको चुनावको लागि संशोधन प्रस्ताव पास भएन यसो नभएपनि चुनाव हुन्छ' उनले भने।  

नेता पोखरेलले दोश्रो चरणको चुनावको लागि संशोधन प्रस्ताव पारित गरेर जाने बताए। 'सकेसम्म सहमतिबाटै अगाडि बढ्ने भनेर नै सहमतिका लागि संसद स्थगित गरिएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.