|

लहान : नेकपा एमाले सिरहा जिल्ला कमिटीले जिल्लाको सात नगरपालिका र १० गाउँपालिकाका सबै मुख्य पदमा पुरुष उम्मेदवारहरुको मात्र नाम सिफारिस गरेको छ। महिलाहरुका लागि उपाध्यक्ष पद सुरक्षित रहेकाले मुख्य पदमा पुरुषहरुको मात्र नाम सिफारिस भएको हुन सक्ने एमालेका जिल्ला नेताहरु बताउँछन्।

सिरहा जिल्लाकै मुख्य व्यावसायिक केन्द्र लहान नगरपालिकाको प्रमुख पदका लागि पूर्वप्रमुखसमेत रहेका मुनी साहको नाम सिफारिस भएको छ भने धनगढीमाई नगरपालिकाका लागि प्रमुख पदमा पार्टीका जिल्ला उपाध्यक्ष उत्तर बहादुर जर्घामगर, शिवशंकर महतो र भगलु महतोको नाम सिफारिस गरिएको छ। गोलबजार नगरपालिकामा प्रमुख पदमा पार्टीका जिल्ला सचिव योगेन्द्रप्रसाद सिंह, धर्मनाथ महतो र श्याम श्रेष्ठको नाम सिफारिस भएको छ।

त्यसैगरी, सुखीपुर नगरपालिकामा रामऔतार यादव, कल्याणपुर नगरपालिकामा रामपुकार साहको नाम सिफारिस भएको पार्टी सचिव सिंहले जानकारी दिएका छन् भने जिल्लाको सदरमुकाम समेत रहेको सिरहा नगरपालिकाबाट शिवशंकर यादव, रामानन्द मण्डल र रविन्द्र साहको नाम सिफारिस गरिएको छ।

सिरहाका १० गाउँपालिकामध्ये सिरहा एमालेले सिफारिस गरेको नौ गाउँपालिका अध्यक्ष उम्मेदवारमा पनि महिलाको नाम परेको छैन। निर्वाचन आयोगले नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला हुनुपर्ने भए पनि उपप्रमुख पदमा मात्र पार्टीका महिला नेत्रीहरुले दाबी गरेको जिल्ला सचिव योगेन्द्रप्रसाद सिंहले दाबी गरे। एमालेले सिरहाको औरही गाउँपालिकाबाहेक सबै गाउँपालिकाका प्रमुख र उपप्रमुखको नाम सिफारिस गरिसकेको जनाएको छ।

नेकपा एमालेका एक नेत्रीका अनुसार प्रमुख पदमा पुरुषहरुकै होडबाजी रहेकोले आफूहरुले त्यहाँ प्रतिस्पर्धा गर्न समस्या हुने देखेर उपाध्यक्षमा जाने निर्णय गरेको बताइन्। उनले भनिन् ‘तराईमा चुनाव खर्चिलो र पुरुषप्रधान मानसिकताले पनि महिलालाई प्रमुख पदमा समस्या हुने देखेपछि सुरक्षित हुनका लागि उपप्रमुख पदमा चित्त बुझाउनु परेको हो।’

एमालेले वडा, गाउँपालिका र नगरबाट वैशाख ९ गतेभित्र जिल्ला र जिल्लाले १० गते सुझावसहितको नामावली प्रदेशमा पठाउने र ११ गते नै सबै उम्मेदवारको नाम टुंगो लगाउने योजना रहेको भए पनि निर्वाचनको मिति सरेपछि उम्मेदवार छनोट प्रक्रिया पनि केही ढिलो भएको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवको भनाइ छ। 

सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा रहेका १ सय ५८ वटा वडाहरुबाट कम्तीमा ३ सय १६ महिलासहित ८ सय २४ जनप्रतिनिधि चुनिने छन्। त्यसमा दलित महिला १ सय ५८ जना पर्नेछन्। सिरहामा ०७३ फागुन ९ गते सम्मको फोटोसहितको मतदाता नामावलीमा ३ लाख ३१ हजार पाँच सय ९६ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.