सन्दर्भ : आज विश्व मजदुर दिवस

|

दमक : आज १ सय २८ औं विश्व मजदुर दिवस मनाइरहँदा पूर्वी नेपालका वास्तिविक मजदुरहरुले अनविज्ञता जनाएका छन्। दैनिक ज्यालादारीमा काम गरेर खाने वास्तविक मजदुरहरुलाई यो दिवसले छुन सकेको छैन। खोलाको बगरमा बालुवा चाल्ने, गिटी कुट्ने तथा घर बनाउने वास्तविक मजदुरहरुलाई मजदुर दिवसले छुन सकेन। उनीहरु आज पनि सदाझैं बिहानै काममा निस्किए।

उनीहरुलाई मजदुर दिवसको अत्तोपत्तो छैन, होस् पनि कसरी एकदिन काम गरेन भने साँझ कसरी छाक टार्ने भन्ने पीडाले सताउँछ। सरकारले आजको दिनलाई सरकारी बिदा दिए पनि आफ्नै पाखुरीको भरमा गुजार चलाउने मजदुरलाई त्यो सरकारी बिदा हर्ष न विस्मातको भएको छ। विभिन्न राजनीतिक दलहरुले विविध कार्यक्रमकोआयोजना गरी यो दिवस मनाइरहेका छन्।

ठुल्ठूला होटलमा आयोजना गरिने कार्यक्रमले वास्तविक मजदुरलाई कहिले छुन सकेको छैन। त्यस्ता कार्यक्रमहरु मजदुरका लागि अर्थहीन हुने गरेका छन्।झापा, मोरङ र इलामको संगमस्थल रहेको मावाँ खोलामा सदाझैं दमक ३ की ६८ वर्षीय वृद्धा खडीमायाँ विश्वकर्मा बिहानै बालुवा चाल्न आइन्। उनलाई आज मजदुर दिवस भन्ने थाहा नै थिएन। उनले भनिन्, ‘हामीलाई के थाहा मजदुर दिवस भनेर, सधैं यही खोलामा आएर गिटी चाल्छौं, यो काम नगरिञ्जेलसम्म खान पनि पुग्दैन।’

उनका चारजना परिवार विगत लामो सयदेखि यहीँ गिटी बालुवा चाल्दै दैनिकी चलाउँदै आएका छन्। उनी भन्छिन्, ‘हामी घरमा रहेका ४ जना यहाँ काम गर्न आउँछौं, श्रीमान् हलो जोत्न जानुहुन्छ, दुई दिनमा एक ट्याक्टर बनाउछौं र २ हजार २ सयमा बेच्छौं र बालुवा ७ सयमा बेच्छौं।’ खेती गर्ने जग्गा नभएका कारण यो काम नगरेसम्म खानसमेत नपुग्ने उनी बताउँछिन्, भन्छिन्,‘ सुकुमम्बासी टोलमा घर छ, खेती पनि छैन, यो काम नगरे के गरेर खानु र?’

सोही खोलामा मजदुरी गर्न आएका इलाम चुचालचुली साविक ९ का कुमार दर्जीले  भने मजदुर दिवस भएको थाहा भए पनि काम नगरी खान नपुग्ने भएकाले यहाँ अरुबेला जस्तै आज पनि आएको बताउँछन्, उनी भन्छन्, ‘मजदुर दिवस भनेर त थाहा छ नि तर, दिवस मनाउन थाल्यो भने बेलुका खाना खान नै पाइँदैन, त्यसैले काम गर्न आएको हुँ।’ सरकारी कर्मचारीलाई मात्र दिवसहरु आउने उनी बताउँछन्।

उनी भन्छन्, ‘मजदुर दिवस बनाउनु र नमनाउनु हाम्रा लागि एउटै हो, दिवस त सरकारी कर्मचारीका लागि मात्र हो, उनीहरुले दिवसको बाहानामा बिदा पनि पाउँछन्, बिदामा पनि सरकारी कर्मचारीले त तलब पाउँछन्, हामीले त जति गरो त्यति मात्र पाउँछौं, बिहान उठेदेखि साँझसम्म काम गर्दा पनि राम्ररी खान पनि पुग्दैन।’

यस्तै, मोरङ मिक्लाजुङ ७ का ६८ वर्षीय खड्गबहादुर राउतले पनि मजदुर दिवस अहिलेसम्म मनाएका छैनन्। कहिले मजदुर दिवस पर्छसम्म उनलाई थाहा छैन। उनी भन्छन्, ‘हामी बिहानदेखि बेलुकासम्म काम गर्नेलाई के थाहा मजदुर दिवस, मैले अहिलेसम्म मजदुर दिवश भनेर सुनेको छैन।’

अरुको जस्तो बालुवा चाल्नेहरुको संगठन नभएकाले आपूmहरुले मजदुर दिवसबारे थाहा नपाएको उनी बताउँछन्। उनी भन्छन्, ‘हाम्रो संगठन पनि छैन, यो विषयमा छलफल पनि हुँदैन, त्यसैले मजदुर दिवस मनाएनौं मजदुर दिवस त सहरका सुकिला मुकिलाले पो मनाउछन् त हामी दिन भरी तातो घाममा काम गर्नेले के मजदुर दिवस मनाउनु र !’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.