महिलाले गर्ने काम वेश्यावृति मात्रै हो!
महिलाले गर्ने काम वेश्यावृति मात्रै हो!
इलाम : कलाकार प्रकाश सपुतको नयाँ गीत ‘पिर’को भिडियो सार्वजनिक भएसँगै विभिन्न व्यक्ति‚ संघसंगठनबाट टिकाटिप्पणी हुँदै आएका छन्। तत्कालीन नेकपा (माओवादी)ले गरेको सशस्त्र द्वन्द्वमा सहभागी लडाकुले अहिले भोगिरहेको कथा भिडियोमा देखाइएको छ। यसैलाई लिएर अहिले पक्ष र विपक्षमा मत प्रकट भइरहेको छ।
भिडियोबारे मत प्रकट गर्नेमा पूर्व माओवादी लडाकु तथा ‘छापामार युवतीको डायरी’ पुस्तककी लेखिका इलामको सूर्योदय नगरपालिका–१२ पञ्चकन्याकी तारा राई पनि थपिएकी छन्। उनले महिला छापामार र कार्यकर्ताबारे देखाइएको दृश्यप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
‘महिला छापामार महिला मुक्ति र परिर्वतनका लागि लडेका थिए। तर‚ किन जहिले नकारात्मक टिप्पणी मात्र गरिन्छ। महिलाले गर्ने काम वेश्यावृति मात्रै हो र?’ ताराले असन्तुष्टि पोखेकी छन्‚ ‘हिजो जनयुद्धमा जुन सपना देखाइएको थियो‚ नेताहरूले बाटो फेरे। उनीहरू महलमा पुगे। हामी झुपडीमै छौं। तर‚ एउटी महिलाले झाडु लगाएर‚ खेतीपाती गरेर पेट पाल्न सक्छे। देह व्यपारसँगै किन जोडिन्छ?’
पिर युट्युबबाट हटाउन माओवादीका चार संगठनको चेतावनी |
‘नेतृत्वले गरेको गल्तीको सजाय सबैतिर घर, परिवार, आफन्त, समाजबाट हामी महिला छापामार र कार्यकर्ताले पाउनुपर्ने?’ उनले प्रश्न गरिन्‚ ‘पुष्पकमल, बाबुरामको धज्जी किन उडाउँदैनन्? किन सबैको आँखामा हामी (महिला) मात्रै पर्छौं?’
ताराले महिला छापामारले गरेको परिर्वतनको योगदानको समाजले अवमूल्यन गरेको टिप्पणी गरिन्। जनयुद्धको नाम दिएर प्रचण्ड र बाबुराम करोडौं रूपैयाँको महलमा बसे पनि महिला मुक्तिका लागि लड्ने एकाधबाहेक झुपडीमै रहेको बताइन्।
उनले प्रकाशको गीतले सबैभन्दा बढी सशस्त्र युद्धमा सहभागी भई झुपडीमा बस्ने आफूजस्तै महिलाहरूलाई बढी पीडा दिएको बताइन्। ‘प्रकाश सपुतको गीतले सबैभन्दा बढी मजस्तालाई पीडा दिएको छ। उनीहरूको सुखका लागि हामीलाई जिउँदो लास बनाइएको छ‚’ ताराले भनिन्‚ ‘नेताहरूको गद्दारीको कारण पाइलापिच्छे हामीले स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ। कति जनालाई जवाफ दिने। मजस्ता जनयुद्धका छापामारको विगत इतिहास परिचय मृत्यु पर्यन्त जनयुद्धसँगै जोडिन्छ। भलै म आज त्यो यात्राभन्दा टाढा छु।’
उनले युद्धबाट घृणा र अपमानबाहेक अरु केही नपाएको गुनासो गर्छिन्। युद्धमा सीमा र परिधिहरू अक्षरशः पालना गरे पनि नेताहरूले त्याग र बलिदानलाई सत्ता र शक्तिसँग साटेको आरोप लगाउँदै आफूहरूको दोष नभएको उनले प्रष्टीकरण दिइन्।
‘युद्धकालीन कुराहरू उठिरहँदा महिला भएको नाताले स्पष्टीकरण दिन मन लाग्छ‚’ ताराले भनिन्‚ ‘अनि कहिले काहीँ छोरी भएर जन्मेकोमा आफैंप्रति गुनासो पनि लाग्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।