|

काठमाडौँ: सुमधुर आधुनिक तथा पप गीतहरूको सँगालो ‘सुगम’ एल्बम लिएर कुमार गुरुङ नेपाली साङ्गीतिक आकाशमा उदाएका छन्। 

सोमबार राती ९ः१८ बजे थाहा सञ्चार नेटवर्कमार्फत् देशभरिका ११० भन्दा धेरै रेडियोबाट एक साथ प्रसारण हुने कार्यक्रम ‘बहकिने मन’मार्फत् उनको उक्त एल्बम विमोचन गरिएको हो। गायक तथा नायक यशकुमार र कवि राबतले संयुक्त रूपमा यस एल्बमको विमोचन गरेका हुन्। 

‘बहकिने मन’ शीर्षकको गीत बजाएर एल्बम विमोचन गरिएको कार्यक्रममा सोही एल्बमका ‘हे मायालु’ र ‘एक नदी’ बोलको गीत पनि प्रसारण गरिएको थियो। कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्माले कुमार गुरुङ, यशकुमार र राबतसँग सोही एल्बममा आधारित भएर कुराकानी पनि गरेका थिए। 

पोखरामा भोलाप्रसाद राईसँग संगीत अध्ययन गरेको दिन सम्झिँदै कुमारले आफू आत्मसन्तुष्टिको लागि सांगितिक क्षेत्रमा लागेको बताए। कुमार गुरुङसँगको १० वर्ष पुरानो चिनजान सम्झिँदै यशकुमारले कुमारको स्वर सुगम संगीतको लागि एकदमै उपयुक्त रहेको बताए। उनले अहिले हल्काफुल्का गीतहरू चर्चित भइरहेको समयमा कुमारको उपस्थितिले सुगम संगीतलाई बलियो बनाउने आशा पनि गरे। 

त्यस्तै कवि राबतले ‘सुगम’ एल्बमका गीतहरू सुन्दा बच्चामा हजुरआमाबाट लोरी सुनेजस्तै आनन्द लागेको बताए। ‘पेन किलर खाएको जस्तो महसुस भयो’, उनले भने, ‘यसले कुमारजीको भविष्य उज्यालो छ भन्ने निश्चित गर्छ।’ 

‘सुगम’मा यशकुमार, सेन्चुरी सुरेश घमाल, सिन्धुलीयन गुराँस  र रेशम श्रीसले लेखेका छवटा गीत समावेश छन्। चारवटा गीतमा कुमार आफैँले संगीत भरेका छन् भने बाँकी दुईमध्ये ‘हे मायालु’मा यशकुमार र ‘हाम्रो प्रेमको’मा दीपक शर्माले संगीत भरेका छन्। अमर प्रेम म्युजिक प्रा.लि.ले एल्बमको बजार र वितरणको जिम्मा लिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.