|

ललितपुर : स्थानीय तहको निर्वाचनका लागि मंगलवार देशभर दलहरुले उमेदवारी दर्ता गराएका छन्। त्यसै अन्तर्गत ललितपुर महानगरमा पनि दलहरुले उमेदवारी दर्ता गराएका छन्। 

मुख्य दल लगायत केही स्वतन्त्र गरी ललितपुरमा ९ जनाले महानगरको प्रमुख पदमा तथा ७ जनाले उपप्रमुखको पदमा उमेदवारी दर्ता गराएका छन्। १६ दल दर्ता भएको ललितपुर जिल्लामा सबै दलले महानगर प्रमुखमा उमेदवारी दिएनन्। 

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चिरिबावु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, नेकपा माओवादी केन्द्रबाट दिनेश महर्जन 'दिपेश', नेकपा मालेबाट मोहनराज शाक्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट रोशन महर्जनले उमेद्वारी दर्ता गराएका छन्।

यसैगरी स्वतन्त्ररुपमा पनि चार जनाले ललितपुर महानगरपालिका प्रमुखमा उमेदवारी दिएका छन्। साझा पार्टीको समर्थनमा रमेश महर्जन, नेकपा क्रान्तिकारी माओवादीको समर्थनमा विजय खड्गी, प्रदिपकुमार थापा र प्रविणकुमार बज्राचार्यले ललितपुर महानगर प्रमुखमा उमेदवारी दर्ता गराएका छन्।यस्तै ललितपुर महानगरको उपप्रमुखमा ७ जनाले उमेद्वारी दिएका छन्। नेपाली काँग्रेसबाट गीता सत्याल, नेकपा एमालेबाट सुकुमायाँ लामा, माओवादी केन्द्रबाट हसिना शाक्य, राप्रपाबाट बावुकाजी प्रधान, नेकपा मालेबाट लक्ष्मीकुमारी श्रेष्ठ, स्वतन्त्ररुबाट शोभा शाक्य र इन्दिरा अधिकारी उपप्रमुखमा उमेदवारी दर्ता गराएका छन्।

२ सय ६५ मतदान केन्द्र रहेको ललितपुर महानगरमा २ लाख १३ हजार ७३ मतदाता रहेका छन्। ललितपुर महानगरको सबै वडामा दलहरुले आ-आफ्नो पार्टीको तर्फबाट उमेदवारी दर्ता गराएको महानगरका निर्वाचन अधिकृत सीता साम्बाले जानकारी दिइन्। 

उमेदवारहरुको संख्या थपिनेक्रम जारी रहेको कार्यालयले जनाएको छ। ललितपुरमा उमेदवारी दर्ताका लागि दलहरु बिहानैदेखि दलहरु पार्टीको झण्डा सहित जाउलाखेल स्थित निर्वाचन कार्यालयमा पुगेका थिए। 

ललितपुर महानगरपालिकामा उमेद्‍वारी दर्ताका गतिविधि हेर्नुस् तस्विरमा

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.