|

उदयपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पाकेको फिलो फुटेर गएको संज्ञा दिएका छन्। ओलीले एमाले नफुटेको दाबी गर्दै एमालेबाट फुटेर बनेको नेपालको पार्टीलाई पाकेको पिलो आफैँ फुटेर गएको बताएका हुन्।

उनले भने, ‘एमालेका साथीहरूलाई आग्रह गर्न चाहन्छु, एमालेमा नेपाल पाकेको पिलो जस्तै भएका थिए, निचोर्नुपर्ने थियो, आफैँ फुटेर गए, ढुक्क भयो, पिलो निचोरिदैमा ओजन घटेको हुँदैन, नेकपा समाजवादी बनेर एमाले घटेको छैन, पिलो बाहिर निस्केपछि दुई चार केजी ओजन बढेको छ। साथीहरू निराश हुने होइन। एमाले फुटेको छैन।’

शुक्रबार उदयपुरको गाईघाटमा एमाले उदयपुरले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले नेकपा समाजवादी एमालेभित्र रहेको फोहोर गएको पनि बताएका थिए। ‘यसभन्दा अघिल्लो चुनावमा जनताले एमालेलाई संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा ठूलो दल बनाएका थिए। अब पनि बनाउनु पर्छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सम्बोधनका क्रममा एमाले सरकार आएपछि प्रत्येक स्थानीय तहका गाउँबस्तीमा सडक र बिजुली पुगेको समेत बताएका थिए। ‘प्रत्येक पालिकामा रणनीतिक सडकहरू बन्दै छन्, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा धेरै काम भएका छन्’, उनले भने।

सत्ता गठबन्धनप्रति आक्रामक बन्दै ओलीले परमादेश सरकारले आफ्नो पालामा ल्याएका धेरै विकासे आयोजना काटिदिएको बताए। उनले भने, ‘राजनीतिक षडयन्त्रबाट बनेको सरकारले जनताका विकास निर्माणका आयोजना देख्नै सकेन।’

जनसभालाई सम्बोधन गर्नुभन्दा अगाडि ओलीले मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्दै आफू प्रधानमन्त्री भएका वेला स्वास्थ्य क्षेत्रमा असाधारण प्रगति गरेको जिकिर गरेका थिए।

उनले भने‚ ‘अस्पताल नभएका पालिकाहरुमा अस्पताल बनाउने काम सुरु गरेका छौँ। सबै पालिकामा डाक्टर र नर्स पुर्‍याउने काम गरेका छौँ।’ ओली शुक्रबार दिउँसो सिम्रिक एयरलाइन्सको हेलिकप्टरबाट गाईघाट आएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.