|

काडमाडौं : वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा तीन व्यापारी नेताले पनि महानगरपालिका तथा नगरपालिका प्रमुखको रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार व्यापारिक क्षेत्रमा पहिचान बटुलेका तीन उम्मेदवार प्रमोद श्रेष्ठ, पवित्र बज्राचार्य र रमेश महर्जनले तीन छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवारी दिएका हुन्। उनीहरूले क्रमश: बेनी नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाबाट प्रमुखका रूपमा उम्मेदवारी दिएका छन्।

को हुन् उनीहरू?

तीनवटा स्थानीय तहबाट प्रमुखका रूपमा आफ्नो उम्मेदवारी दिएका व्यापारीहरू व्यापारिक प्रतिनिधिमूलक संस्थाका जिम्मेवार पदमा रहेका छन्। प्रमोद श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५१औं साधारण सभाबाट जिल्ला तथा नगर उपाध्यक्षमा चुनिएका हुन्। जिल्ला तथा नगरका उपाध्यक्ष दिनेश श्रेष्ठलाई पराजित गर्दै महासंघको उपाध्यक्षमा उनी निर्वाचित भएका थिए।

यअसघि महासंघको स्थानीय आर्थिक विकास समितिका सभापति थिए उनी। उनको बैंक, आल्मुनियम, ग्रिल, जलविद्युत, अस्पतालगायत क्षेत्रमा लगानी रहेको छ। उनले नेकपा एमालेबाट बेनी नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका हुन्।

पवित्र बज्राचार्य नेपाल खुद्रा व्यापार महासंघका अध्यक्ष हुन्। काठमाडौं महानगरपालिका वडा नम्बर २३ का बासिन्दा उनी यसअघि २३ नम्बर वडाका वडा अध्यक्षमा निर्वाचित भएका थिए। नेकपा एमालेबाट वडा अध्यक्षमा २०४९ सालको स्थानीय निकायको निर्वाचनमा जीत हासिल गरेका थिए। संघीय समाजवादी फोरम नेपाल पार्टीको समीकरणपछि उनले संघीय समाजवादी फोरम नेपालबाट काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएका हुन्।

रमेश महर्जन नेपाल श्रीलङ चेम्बर र अफ कमर्शको अध्यक्ष, नेपाल रत्न तथा आभूषण महासंघको निवर्तमान अध्यक्ष र नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमा रहेका छन्। सुन तथा हीराको व्यापार गर्ने महर्जनले साझा पार्टीको समर्थनमा ललितपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कसको योजना के?

तीनै जना उम्मेदवारले आफ्नो मुख्य तथा प्रमुख एजेण्डा सुन्दर र व्यवस्थित शहर भएको बताएका छन्। तीनै जना उम्मेदवारका तीन प्राथमिकता के छन् त?

प्रमोद श्रेष्ठ बेनीलाई सुन्दर र व्यवस्थित नमुना शहरको रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँछन्। समुदायमा आधारित आर्थिक विकासका कार्यक्रम चलाउने र सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनका काम अघि बढाउने योजना पवित्र बज्राचार्यको छ। पहिलो चरणमा काठमाडौंमा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण, फोहोर र ढललाई न्यूनीकरण र व्यवस्थित गर्ने तथा दीर्घकालीन प्रभाव पार्ने गरी पूर्वधार विकासका काम अघि बढाउने उनको लक्ष्य छ। सुलभ रूपमा महानगरवासीलाई स्वास्थ्य, शिक्षा र खानेपानी उपलब्ध गराउने पनि पवित्रको योजनामा छ।

रमेश महर्जन ललितपुरलाई प्राचीन कला सम्पदाको शहरको रूपमा विकास गर्ने बताउँछन्। महानगरपालिकाको रिङरोड र लिंकरोड जोड्ने, बागमतीमा ढल निषेध गर्ने, सम्पूर्ण ढल तथा फोहरलाई एकै ठाउँ जम्मा गरेर कम्पोष्ट मल बनाउने, तल ढल प्रशोधन केन्द्र र माथि पार्क निर्माण गर्ने उनको सपना छ। पाटनलाई औद्योगिक केन्द्रको रूपमा विकास गर्ने योजना पनि उनले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.