|

सिन्धुपाल्चको : सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन्।

शुक्रबार चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढंगले सञ्चालन आग्रह गरेका हुन्।

तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतीक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनताको तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए। कोभिड–१९ को महामारीपछि बन्द भएर हाल सञ्चालन रहे पनि तातोपानीलगायत अन्य नाकाबाट आवतजावत सामान्य बन्न सकेको छैन।

बैठकमा सापकोटाले दुई देशबीचको सम्बन्धलाई आजको स्तरमा ल्याउन संघीय संसद्, प्रतिनिधिसभाका सदस्यसमेतको महत्त्वपूर्ण भूमिका रहेको र  आगामी दिन उक्त सम्बन्ध अझ प्रगाढ तथा परिस्कृत बनाउन संघीय संसद्ले कुनै कसर बाँकी नराख्ने बताए। उनले आर्थिक विकास, सांस्कृतिक जागरण र प्रविधिको विकासबाट चीनमा समग्र राष्ट्रिय शक्तिको निर्माणमा भएको प्रगतिको उच्च प्रशंसा गर्दै यो नेपालका लागि समेत विकास र समृद्धिको मार्गदर्शक हुनसक्ने अपेक्षा गरे।

सभामुख सापकोटाले कोरोना महामारीको प्रभावकारी नियन्त्रण, रोकथाम र प्रतिकार्यमा चीनले गरेको सफलता विश्व समुदायका लागिसमेत उदारणीय रहेको बताए। उनले नेपालमा कोरोना महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सुरुवआतदेखि नै चीनले उपलब्ध गराएको सहयोग तथा चीन सरकारबाट प्रदान गरिएको खोपलगायत अन्य स्वास्थ्य सामग्रीको सहयोगका  लागि चीन सरकारप्रति आभार प्रकट गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.