मानिस नयाँ कुरा सिक्न चाहन्छ। तर के किन कसरी कहिले र कहाँ भन्ने चाहिं सबैलाई थाहा नहुन सक्छ। प्रत्येक संगठनमा काम गर्नेलाई चुस्त र दुरुस्त राख्न तालिमले सघाउँछ।
संगठनको धुमिल छवि सुधार्न पनि तालिमले प्रत्यक्ष मद्धत गर्छ। यसका लागि प्रत्येक व्यक्ति प्रत्येक क्षण सिक्नको लागि जिज्ञासु हुनुपर्छ।
सबैले व्यक्तित्व विकास अर्थात् आत्म विकासका लागि क्रियाशीलता प्रदर्शन गर्नुपर्छ। आखिर, हरेक संगठनमा कार्यरत कर्मचारीले नै हाक्ने हुँदा ती सवल र सक्षम हुनुपर्छ। यसका लागि तिनले हरपल नयाँ कुरा सिकिरहनु पर्छ।
यसै क्रममा शिक्षामनोविद् रुसोका अनुसार धेरै कुरा अनुभवका आधारमा सिकिन्छ। केटाकेटीलाई प्रकृतिसँग रम्न दिँदा छिटो सिक्छन्। उनले ब्याक टु नेचर भन्ने पुस्तकमा यसको व्याख्या गरेका छन्। पानीले रुझिन्छ। आगोले पोल्छ भन्ने कुरा सिकाएरभन्दा अनुभव गरेर छिटो सिकिन्छ।
अर्का शिक्षा मनोविद् प्याभलवले गल्तीबाट प्रभावकारी सिकाइ हुने अवधारणा अघि सारेका छन्। यसैगरी, शिक्षाविद् किम्बलले मानिसले अन्तरदृष्टिबाट सिक्छ भन्छन् भने शिक्षाविद् यङ मानिसले प्रेरणाबाट सिक्न सक्ने बताउँछन्।
यसैक्रममा एलिस क्रोले पनि आन्तरिक प्रेरणाबाटै मानिसले सिक्ने कुरा बताएका छन् भने शिक्षाविद् पेस्तालोजीले सिक्ने व्यक्तिको जागरुकताले मात्रै सिक्न सकिने कुरा बताएका छन्। बान्दुराले भने शिक्षक प्रशिक्षकको रोलमोडलबाट सिकाई प्रभावकारी हुने कुरा बताउछन्। यसरी सिक्ने र सिकाउने विविध पक्षलाई गहनतापूर्वक नियाल्नुपर्छ।
प्रत्येक व्यक्तिले आफूलाई थाहा नभएको ज्ञान हासिल गर्नुपर्छ। आफू पारखी नभएको कुरा सिक्नु पर्छ। यसैगरी, अभिबृत्ति र व्यबहार परिवर्तनमा पनि अग्रसर हुनुपर्छ।
भनिन्छ, पढेको कुरा बिर्सिन्छ। देखेको कुरा संझिन्छ। गरेको कुरा जानिन्छ। गर्दै गरे बानी पर्छ। यसलाई आत्मसात् गरी सधैँ राम्रो काम गर्न, राम्रो कुरा सोच्न र राम्रोको संगत गर्न लालयित हुनुपर्छ।
सिक्नको लागि थ्रि एचको सिद्धान्त अनुशरण गर्नुपर्छ। जसअनुसार, हेड, हार्ट एण्ड हायण्ड अर्थात् दिमाख, हृदय, हातको समुचित उपयोग गरी सिक्नुपर्छ। यसलाई मन, वचन र कर्मको प्रयोगका रूपमा पनि बुझ्न सकिन्छ।
एउटा मननीय भनाइ छ, जो ऊ आफू जान्दैन र जान्दिनँ भन्नेसम्म पनि जान्दैन, ऊ मूर्ख हो त्यसलाई छुट्याउ। जो ऊ आफू जान्दैन, तर जान्दिनँ भन्ने जान्दछ, ऊ साधारण हो, त्यसलाई सिकाग। जो ऊ आफू जान्दछ तर जान्दछु भन्ने जान्दैन, उ सुषुप्त हो, त्यसलाई ब्युझाउ। जो आफू जान्दछ र जान्दछु भन्ने जान्दछ, उ ज्ञानी हो; त्यसलाई पछ्याउ भनिन्छ। हामी यही विधिबाट अघि बढ्नुपर्छ।
भनिन्छ, हजारौँ माइलको यात्रा पहिलो पाइलाबाट आरम्भ हुन्छ। बिहान हेरेर दिनको अनुमान गर्न सकिन्छ। खुट्टा देख्दैमा कस्तो नाच्लिन् भन्ने अनुमान गर्न सकिन्छ। मानिस आउँदाको पहिचान लुगाले बताउँछ। यसर्थ, हामीले बत्तिसै लक्षणले युक्त हुने कोशिस गर्नुपर्छ।
एउटा महत्वपूर्ण कुरा छ, जाई र चमेली फूल्दा वास्ना चल्छ। तर उन्यूँ र खर फूल्दा वास्ना चल्दैन भने झै हामीले गरेको कामले आम समाजलाई सकारात्मक असर पुर्याएको सन्दर्भलाई विश्लेषण गर्दै अघि बढ्नुपर्छ।
हिमालबाट शुरु भएको खोला बाटो नसोधी हिँड्दा पनि समुन्द्रमा पुग्छ भनेझैँ इमान्दार भएर जिम्मेवारीमा रहदा सफलता हातपर्छ। यस्का लागि रूखले जसरी बर्षेनी पात फेर्छ, सोही रितले हामीले आफूलाई समयानुकुल बदल्नु पर्छ। यसका लागि सर्पले बर्सेनि काचुली फेर्ने कुरालाई पनि हेक्कामा राखी आफूलाई समयानुकूल बनाउनु पर्छ।
परिश्रम नगरी फलको आशा गर्नु भनेको फलको बृक्षरुपी मुख बाएर बस्नु सरह हो। यसर्थ, आफूले चाहेको फल खान, फल टिप्नु पर्छ, झार्नुपर्छ, झटारो हान्नु पर्छ। रूख चढ्नुपर्छ। यस्ता यत्नपछि मात्रै मानिसले सफलता चुम्न पाउँछ।
यसर्थ, हामी थाक्दैमा रोकिनु हुँदैन, जबसम्म काम फत्ते हुदैन, तवसम्म गन्तव्य प्राप्तिका लागि निरन्तर लागिपर्नु पर्छ। अवसर र सूर्योदयमा एउटै समानता छ। ढिलो गर्नेलाई यसले पर्खंदैन भनिन्छ। यसर्थ, हामीले मौका आउछ पर्खिदैन, बगेको खोला फर्किदैन भन्ने उखान भन्ने मात्रै होइन यसको मर्मलाई जीवनमा हुबहु अनुशरण गर्नुपर्छ।
भनिन्छ, केही नयाँ काम गर्नका लागि हामी महान् हुन आवश्यक छैन। तर महान हुनका लागि हामीले केहि नयाँ कामको थालनी गर्न जरुरी छ। यस कुरालाई सबैले मनन गर्नुपर्छ।
अर्को भनाई पनि छ, हामीले आफ्नो भविष्य बदल्न सक्तैनौं होला। तर प्रबृत्ति बदल्न सक्छौं। जब प्रबृत्ति बदल्छौं, तव स्वतः हाम्रो भविष्य बदलिने यथार्थलाई पनि भुल्नु हुदैन।
हाम्रा दुई आँखा छन् , यसर्थ, सबै कुरालाइ दुईपटक नियाल्नु पर्छ। यसैगरी, दुईवटा कान भएकाले दुईपटक सुन्नु पर्छ। साथै, एउटा मुख भएकाले कम बोल्नु पर्छ, अर्थात् नबुझी बोल्नु हुदैन भन्ने ज्ञानको हेक्का गर्नुपर्छ। यी सबै सत् कार्यका लागि हामीले परिवर्तनलाई आत्मसात् गर्नुपर्छ।
भनिन्छ, सबैजना विश्वलाई बदल्ने सोच्छन्। तर आफैलाई बदल्नेबारे भने कसैले पनि सोच्दैनन्। यसर्थ, विशेषगरी कर्मचारीको कार्यशैली र मन्यतामा परिवर्तन ल्याउन तालिम दिने गरिन्छ।
तालिमले मैले के पाए होइन, मैले के दिन सके ? यो गरेर मलाई के फाइदा होईन, यो गरेर मलाई के बेफाइदा हुन्छ ?भनी अन्तरआत्मामा प्रश्न गर्न उत्प्रेरित गराउछ। यसबाट प्रत्येक कर्मचारीमा अहिले नगरे कहिले गर्ने ? मैले नगरे कसले गर्ने ? भन्ने सोचको विकास संगै सेवा प्रबाहलाई चुस्त र दुरुस्त तुल्याउँछ।
भनिन्छ, लेख्दा लेख्दै बोधिएको सिसाकलमलाई पुन सार्पनरमा राखी चुच्चो भनाए झै कर्मचारीलाई पनि पुर्नताजगीका लागि तालिम दिईन्छ। प्रस्तुत सन्दर्भमा आम कर्मचारीलाई व्यक्तित्व विकास, आत्म विकास र सकारात्मक सोचको विकासका लागि तालिम दिनुपर्छ।
यसैगरी, संगठन विकास र संस्कार अन्तर्गत क्षमता विकास, नेतृत्व सीप, संस्थागत रणनीति निर्माण, अनलाईन कार्यसंचालनका विधि बारे जानकारी दिन जरुरी छ। साथै, समूह गतिशीलता र उत्प्रेरणा, बजार, उपभोक्ता तथा सेवा प्रवाह व्यवस्थापन लगायतका समसामयिक विषयमा तालिम दिनुपर्छ। यसरी तालिमको माध्यमद्वारा कर्मचारीलाई चुस्त र दुरुस्त तुल्याई हरेक संगठनले लिएको उद्धेश्य प्राप्तिका लागि प्रयास गर्नु पर्छ।
हामी सबैलाई लक्ष्य प्राप्तिका लागि तालिमले सजग बनाउछ। यस्ले स्वमूल्यांकन र उत्प्रेरणाका लागि सजग गर्छ। सबैमा सिक्नुपर्छ भन्ने भावना दिन्छ।
परिवर्तनलाई आत्मसात् गर्न सक्ने तुल्याउछ। यस्ले जनताको सेवा गर्न प्रोत्साहित गर्छ। साथै, तालिमले आम कर्मचारीलाई ग्राहकमैत्री तुल्याउछ।
तालिमले राष्ट्रसेवक कर्मचारीको ज्ञानलाई अपग्रेट र अपडेट गर्छ। उनीहरुलाई सुधार्छ।स्वअध्ययनका लागि प्रेरित गर्छ। यसर्थ, सिकाई जन्मदेखि मृत्यु पर्यान्त चलिरहन्छ। जस्ले संगठनप्रति प्रतिबद्धता दह्रो बनाउन सघाउछ।
अन्त्यमा, हामीले नेतृत्व पहिचान केन्द्र खडा गरी राईट म्यान ईन राईट प्लेसमा पुर्याउनुपर्छ। सुशासन ऐनको हुवहु कार्यान्वयनका लागि सुशासन आयोग गठन गर्नुपर्छ। सातै वटा प्रदेशमा प्रादेशिक सूचना आयोग गठन गर्नुपर्छ। यसबाट मुलुकमा असल र कानूनी शासन स्थापना भै आम जनताले आफ्ना प्रशासनिक अधिकारको समुचित प्रयोग गर्ने छन्। यसबाट सुशासन घनीभूत हुनेछ। यसरी तालिम र सिकाईले आम कर्मचारीलाई जनतामैत्री तुल्याउन मद्धत गर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।