|

खोटाङ : स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायम राख्न सहमत भएका खोटाङमा दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका छन्। गत चैत १६ गते जिल्ला समन्वय समितिको सभाहलमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायमै राख्ने निर्णय गरेको थियो।

त्यसयता पटकपटक तालमेलबारे छलफल गर्न गठबन्धन दलको बैठक बसे पनि सहमित जुट्न सकेको थिएन। आइतबार राति साढे ११ बजे  सोही स्थानमा बसेको चार दलको बैठकले निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिए।

बैठकले पालिकामा तालमेलको मोडालिटी र भागबण्डासमेत टुंगो लगाएको छ। दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्ने भएको छ।

हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दलले एक–अर्कालाई सहयोग गर्ने सहमति भएको हो।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादीका प्रमुख र उपप्रमुखका उम्मेद्वारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्दा साकेला गाउँपालिकामा माओवादीका अध्यक्ष र जसपाका उपाध्यक्ष, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष र जसपाका उपाध्यक्षलाई एकअर्काले सहयोग गर्नेछन्।

बाँकी ६ पालिकामा भने चार दलीय गठबन्धन बनेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐँसेलुखर्क, खोटेहाङ, वराहपोखरी र जन्तेढुंगा गाउँपालिकामा भने चार दलबीच नै गठबन्धन गर्ने सहमति भएको हो।

यीमध्ये तीनमा कांग्रेस र तीनमा माओवादीले प्रमुखको उम्मेद्वार पाउनेछन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, वराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐँसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उम्मेद्वार दिने गठबन्धन दलले सहमति गरेका छन्।

पालिकामा तालमेल र भागबण्डाको विषय टुंगिए पनि कहाँ कसलाई उम्मेद्वार बनाउने भन्ने टुंगो लाग्न बाँकी छ। उक्त विषय आजभित्रै टुंगो लाग्ने गठबन्धन दलका एक नेताले बताए।

जिल्लाका ७९ वडाहरूमा भने तालमेल र भागबण्डाको विषय छलफलकै क्रममा छ। उक्त विषय पनि भोलिभित्र टुंगो लगाइने गठबन्धन दलका नेताले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.