ताप्लेजुङ : आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित १० जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। कतै एकल उम्मेदवारी परेकोे र केही पदमा अन्यको उम्मेदवारी फिर्ता भएसँगै उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन्। यीमध्ये नेपाली कांग्रेसका तीन नेकपा एमालेका एक जना र नेकपा माओवादी केन्द्रका एक जना हुन्।
यता फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गंगा दर्नाल निर्विरोध भएकी छिन्। कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका–३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध भएका छन्।
यस्तै फताङ्लुङ गाउँपालिका–६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी पनि निर्विरोध भएकी छिन्। यस्तै मिक्वाखोला–५ पापुङमा माओवादीबाट उम्मेदवारी दिएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध भएकी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।