विचार

भगवान् बुद्धले भन्ने गरेको शून्यता
SHARES

सन्दर्भ : आज बुद्ध जयन्ती

बैशाख २९, २०७४

    भगवान् बुद्धले ज्ञान प्राप्त गरेको हल्ला चल्नेबित्तिकै स्थानीय गाउँलेहरूले बुद्धका सामु जम्मा भएर सोधेछन्– ‘यति लामो ध्यानपश्चात् तपाईंले के पाउनुभयो? प्रतिउत्तरमा बुद्धले भनेछन्, ‘मैले नयाँ केही पनि पाइनँ, हिजो जे मसँग थियो, मैले त्यही चिजलाई चिनें।’ बोधिसत्व प्राप्त गरेपश्चात् पहिलो पटक बोलेका यही कुरामा उनको ज्ञानको समग्र सार निहित छ।

    वास्तवमा हामीसँग जे छ, त्यो चाहेर पनि गुमाउनै सकिँदैन अनि हामीसँग जे छैन, त्यो जसो गर्दा नि आफ्नो हुँदै हुँदैन। त्यो गुमाउनै नमिल्ने चिजलाई बुद्धले शून्यता भने। आफ्नो बनाउनै नसकिने चिज भनेको चाहिँ ‘म’ र ‘मेरो’ भावका कारण जीवनभर हामीले कमाएका सम्पूर्ण भौतिक वस्तु र सामाजिक मान प्रतिष्ठा हुन्।

    कुनैपनि भौतिक वस्तु जतिसुकै विशाल किन नहोस्, त्यसको सीमा हुन्छ। अधुनिक विज्ञानका अनुसार कुनै वस्तुको संरचनामा एकअर्को अणुबीचमा निकै नै धेरै अनुपातमा खुला ठाउँहरू हुन्छन्। यो पृथ्वीको अणुबीचको खुला ठाउँहरूलाई निकालिदिने हो भने सिङ्गै पृथ्वी केवल सुन्तलाको आकारमा समाहित गर्न सकिन्छ। त्यसको तौलमा रत्तिभर पनि कमी आउनेछैन। तर, अणु अणुबीच हुने खुला ठाउँको भौतिक अणुहरूको भन्दा निकै गहिरो महत्त्व छ। आज विज्ञानको खोज नै त्यही खुला ठाउँको, त्यही शून्यताको रहस्य खोतल्नुमा केन्द्रित छ।

    विश्व व्रह्माण्डमा भौतिक वस्तुको तुलनामा खुला ठाउँ लाखौं गुणा धेरै छ। हो, विश्व बह्माण्ड केवल शून्य हो। शून्य अनन्त छ। अर्को अर्थमा सम्पूर्ण र शून्य एकै हुन्। यी दुईमा अभिव्यक्तिमा मात्रै फरक छ। म सबैलाई माया गर्छु र कसैलाई माया गर्दिनँ भन्नु एकै हो। यी दुवै अवस्थामा हामी सबैलाई एकै किसिमले व्यवहार गरेका हुन्छौं।

    फरक त्यो बेला मात्रै हुन्छ, जब हामी केही निश्चित मानिसलाई अरूभन्दा फरक व्यवहार गर्दछौँ। हिन्दू लगायतका अन्य धार्मिक मान्यताले जे कुरालाई सम्पूर्ण भने, त्यही कुरालाई बुद्धले शून्यता भने। 

    बुद्धले भनेको शून्यताको अर्थ केही पनि छैन भन्ने हुँदै होइन। उदाहरणका लागि गिलासमा कत्त्ती पनि छैन अर्थात शून्य छ भन्ने अर्थमा गिलासमा पानी अथवा अर्को कुनै आँखाले देखिने वस्तु छैन भन्ने हो। तर, केही नभएको गिलासमा हावा त हुन्छ नि! जुन हावा त्यहाँ त्यसै छ। सधैं छ। अनि मानिस बाँच्ने सन्दर्भमा हावाको महत्त्व अन्य कुराका तुलनामा निकै धेरै छ।

    त्यस्तै, बुद्धको शून्यताको अर्थ पनि मस्तिष्कलाई कुनै पनि वस्तुसँगका सन्दर्भमा मोह छोडेर खालि बनाउनु हो। आमसन्दर्भमा हामीले मिहिनेतले कमाएको भौतिक वस्तु र सामाजिक प्रतिष्ठाका मात्रै मूल्य बुझेका छौ‌ं। अनि हाम्रो लागि नदेखिने चिजहरूको महत्त्व केवल शून्य हो। जसरी पानी लगायतका सामान नराख्दा गिलासमा हावा स्वतः भरिन्छ, त्यस्तै, मस्तिष्कबाट हामीले मूल्यवान सम्झिएका चिजहरू मिल्काइदिने हो भने स्वतः हामीले केही चिज पाउँछौं, जुन प्राकृतिक रूपमै हामीसँग छ। 

    मस्तिष्कको रूपान्तरण सन्दर्भमा सबै चिजलाई छोड्दै जानु पनि एक विधि हो। तर भगवान् र आत्मा छैन भन्ने बुद्धले मनको रूपान्तरणका सन्दर्भमा चाहिँ अनेकन ध्यान विधिको उपयोग गरे। यो अर्थमा पनि बुद्धले अपनाएको शून्यताको विधि पनि मध्यमार्गी विधि नै हो। 

    भौतिक चिजहरू र सामाजिक प्रतिष्ठाको पछाडि दौडिरहँदा हामीले प्राकृतिक रूपमा स्वतः प्राप्त हुने मूल्यवान् चिज गुमाएका छौं। हो, त्यो चिज नै निर्वाण हो। बुद्धले भन्ने गरेको शून्यता पनि त्यही हो। हामीसँग जे छ, त्यो मूल्यवान् मात्रै होइन, सम्पूर्ण छ। परिपूर्ण छ। त्यसमा केही थपिनु आवश्यक पनि छैन। तर, हामीसँग भएको यस्तो महत्त्वपूर्ण चिजप्रति हामी जागरुक छैनौं। हामीसँग केही चिजको कमी छ भने त्यो केवल जागरुकताको कमी नै हो। 

    बुद्धले नकारात्मक संज्ञाको प्रयोग गर्नुमा गहिरो कारण छ। तत्कालीन समयमा अन्य धार्मिक मान्यताका गुरुहरूले लोभ गर्नुहुँदैन भन्थे। मुक्त अवस्थाको कुरा गर्थे। इच्छाविहीन अवस्थाका कुरा गर्थे। भगवानको महिमा गाउँदा, आत्माको अस्तित्व स्वीकार्दा, स्वर्ग र नर्कमा विश्वास गर्दा मानिसहरूले भौतिक वस्तु र सामाजिक मान प्रतिष्ठाको लोभ त छाडे, तर त्यसको साटो मृत्युपछि स्वर्गमा जाने लोभ गर्न थाले। भागवानको दाहिना हुने लोभ गर्न थाले। आत्मा र परमात्माको साक्षात्कार गर्ने लोभ गर्न थाले। इच्छाविहीन अवस्था प्राप्त गर्न थाले। 

    अनिधनको लोभ, सामाजिक पदको लोभभन्दा निर्वाण प्राप्त गर्ने सन्दर्भमा भगवानको दाहिना हुने लोभ अझै ठूलो लोभ हो। तत्कालीन समयमा नेपाल तथा भारतका मानिसहरूमा यस्ता लोभहरू निर्वाण प्राप्त गर्ने सन्दर्भमा निकै नै ठूलो समस्याका रूपमा देखिएका थिए। हामीभित्र भौतिक शरीरबाहेक केही अलौकिक चिज आत्मा वा परमात्मा छ भन्ने भावले मानिसमा अझ बढी अहंभाव जगाएको अवस्था थियो।

    बुद्धले भगवान नभएका कारण भगवान् छैनन् भनेको होइन, आत्मा नभएका कारण आत्मा छैन भनेका होइनन्। बुद्धले केवल तत्कालीन परिवेशलाई मध्यनजर गर्दै धेरैभन्दा धेरै मानिसले निर्वाण प्राप्त गरी खुसी र आनन्दित जीवन बिताऊन् भन्ने सन्दर्भमा भगवान् छैनन् भनेका हुन्। आत्मा छैन भनेका हुन्। स्वर्ग छैन भनेका हुन्। यति भनेका कारण बुद्धले नेपाल र भारत छोड्नुपरेको थियो। बुद्धले भगवानको अस्तित्व छैन भनेकै कारण आज बुद्धभूमिमा बुद्धका अनुनायी निकै नै कम छन्। 

    बुद्धले भन्ने गरेको शून्यता मानिसको रूपान्तरणका सन्दर्भमा केवल एक विधि थियो। हरेक कुरासँग मोहभङ्ग गराई मानिसहरू इच्छाविहीन अवस्थासम्म पुगून् भन्ने उद्देश्यका कारण बुद्धले जीवनलाई उद्देश्यविहीन भनेका हुन्। महत्त्वविहीन भनेका हुन्,शून्य भनेका हुन्। 

    बुद्धले अतिवादलाई छाडेर मध्यम मार्ग छान्न सुझाएका थिए। बुद्धले छानेको शून्यताको विधि पनि मध्यमार्गी विधि थियो। बुद्धले केही चिजको महत्त्व छैन त भने तर, उसले मस्तिष्कको रूपान्तरणका सन्दर्भमा ध्यान विधिहरूको उपयोग गरे।

    आधुनिक समयका प्रख्यात अध्यात्म गुरु जे. कृष्णमूर्तिले त मस्तिष्कको रूपान्तरणका सन्दर्भमा कुनै पनि ध्यान विधि नै छैन भनेका थिए। त्यस्तै, जेन मान्यताले कुनै पनि विधि, कुनै पनि ग्रन्थ र कुनै पनि गुरु मस्तिष्कको रूपान्तरणका सम्बन्धमा आवश्यक छैन भनेको छ। मस्तिष्कको रूपान्तरण सन्दर्भमा सबै चिजलाई छोड्दै जानु पनि एक विधि हो। तर, भगवान् र आत्मा छैन भन्ने बुद्धले मनको रूपान्तरणका सन्दर्भमा चाहिँ अनेकन ध्यान विधिको उपयोग गरे। यो अर्थमा पनि बुद्धले अपनाएको शून्यताको विधि पनि मध्यमार्गी विधि नै हो। 

    शून्यतामा मस्तिष्कको अस्तित्व रहनै सक्दैन। मस्तिष्क भन्नु नै ‘म’ भन्ने भाव हो। ‘म’ भावका लागि स्वभावतः कुनै न कुनै चिजसँगको आवलम्बन चाहिन्छ। ‘म’ भाव अन्य मानिस र चिजहरूसँगको सम्बन्धका धरातलमा विकास भएको हुन्छ। म धनी हुँ भन्ने सन्दर्भमा धनसँग मानिसको सम्बन्ध छ। जीवनको उद्देश्य, आफ्नै बारेको अवधारणा, परिवार, सामाजिक परिचालन, धर्म, भगवान्, धार्मिक ग्रन्थ आदि सबै मस्तिष्कका अवलम्बनहरू हुन्।

    यस्ता अवलम्बनहरूले अहंलाई पुष्टि गर्दै लैजान्छन्। शून्यताको विधिको उद्देश्य भन्नु नै यस्ता अवलम्बनहरूसँग सम्बन्धविच्छेद गर्दै मस्तिष्कलाई निर्विचार बनाउनु हो। निर्विचार अवस्थामा ‘म’ भन्ने भावको पनि अन्त्य हुन्छ। तर ‘म’ भावले त्यति सजिलै हामीलाई रूपान्तरित हुन भने दिन्‍नँ। अरू चिजसँग सम्बन्ध भत्कँदै गर्दा मस्तिष्क शून्यताको अनुभूतिको चाहसँग वा निर्विचार अवस्थाको चाहसँग जोडिन सक्छ। निर्विचार अवस्थामा पुग्ने सन्दर्भमा निर्विचारको चाह नै सबैभन्दा ठूलो अवरोध हो। त्यसैले मस्तिष्क रूपान्तरणका सन्दर्भमा ध्यान विधिहरूको आवश्यकता परेको हो। 

    मस्तिष्क रूपान्तरणका सन्दर्भमा अनेकन विधिहरूको आ-आफ्नै महत्त्व छ। तर, हिन्दू मानसिकताका सन्दर्भमा आत्मा र परमात्माको दर्शन, मृत्युपश्चात् स्वर्गप्राप्तिको चाहना लगायतका कुराहरू नै निर्वाण प्राप्त गर्ने सन्दर्भमा ठूला तगारा हुन्। तसर्थ मस्तिष्क रूपान्तरणका अन्य विधिको तुलनामा हाम्रो सन्दर्भमा बुद्धको शून्यताको मार्गको मर्म बुझेर त्यसको पालना गर्ने हो भने अन्य विधिको तुलनामा यो विधि बढी प्रभावकारी छ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]