|

काठमाडौं : पहिलो चरणको निर्वाचनको मतपेटिका त्यही दिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने भएको छ। वैशाख ३१ गते साँझ ५ बजे मतदान सम्पन्न भएपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने आयोगले बताएको हो। मनाङ र डोल्पाका केही तहका मतपेटिका एयरलिफ्टमार्फत निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने प्रबन्ध आयोगले गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।

मतगणना सम्पन्न भएको तीन घन्टाभित्र सबै तहका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने आयोगले जनाएको छ। ' निर्वाचन सम्पन्न भएको कम्तीमा सबै तहका मतपेटिका तीन घन्टाभित्रै निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने प्रबन्ध आयोगले मिलाएको छ आवश्यक स्थानमा एयरलिफ्ट पनि हुन्छ,' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने।

२ सय स्थानीय तहका निर्वाचन अधिकृतको कार्यलयमा मतपेटिका ३१ गतेनै पुग्ने भएकाले आयोगले जेठ १  गतेदेखिनै मतगणना गर्ने तयारी गरेको आयोगका सचिव गोपीनाथ मैनालीले बताए। 'सबै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुगेपछि निर्वाचन अधिकृतले मतगणनाको सूचना प्रकाशित गरी काम सुरुवात गर्नुहुनेछ जेठ १ गतेबाटै मतगणना सुरु गर्ने आयोगको तयारी छ,' सचिव मैनालीले भने।

कसरी सुरु हुन्छ मतगणनाको प्रक्रिया?

स्थानीय तह निर्वाचन ऐनले मतगणना गराउने जिम्मेवारी निर्वाचन अधिकृतलाई दिएको छ। निर्वाचन अधिकृतले आफ्नो क्षेत्रको मतगणना प्रत्यक्ष रेखदेखमा गराउनुपर्ने ऐनको दफा ४४ मा उल्लेख छ। मतपेटिका आफ्नो कार्यालयमा प्राप्त भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र र समय तोकी उम्मेदवारको जानकारीको लागि सूचना प्रकाशित गर्नुपर्नेछ। 'स्थानीय तहको कुनै पदको निर्वाचनको लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको लागि प्रयोग गरिएका सबै मतपेटिका प्राप्त गरिसकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र समय तोकी उम्मेदवारको जानकारीको लागि सूचना प्रकाशन गर्नु पर्नेछ,' ऐनको दफा ४५ को उपदफा २ मा उल्लेख छ।

निर्वाचन आयोगलाई एमाले सहितका केही दलले दोस्रो चरणको निर्वाचनपछि मात्रै मतगणना गर्न सुझाव दिइरहेका छन्। आयोगले भने त्यसलाई अस्वीकार गरेको छ । 'हामीले दलहरुले उपलब्ध गराएको ऐन अनुसारनै काम गर्ने हो। उहाँहरुलेनै उपलब्ध गराएको स्थानीय तह निर्वाचन ऐनले मतपेटिका प्राप्त भएपछि सूचना प्रकाशित गरी तत्काल मतगणना गर्न सक्ने अधिकार दिएको छ,' आयोगका सचिव गोपी मैनालीले भने,' दलहरुबाट विभिन्न सुझाव प्राप्त भएपनि हामी ऐनअनुसारनै काम अघि बढाउँछौं।'

एमालेले देशभर निर्वाचन सम्पन्न भएपछिमात्रै मतगणना हुनुपर्ने माग गरेको छ। पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन अघि गर्नु निर्वाचनको मूल्यमान्यता विपरीत हुनेभन्दै एमालेले आयोगलाई मतगणना जेठ ३१ गतेको निर्वाचनपछि गर्न आग्रह गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.