|

बुटवल : नेपाल राष्ट्र बैंकले सटही नगर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा भेटीस्वरुप चढाइएको लाखौं विदेशी मुद्रा अलपत्र परेको छ। नेपाल राष्ट्र बैंकले २५ वटा देश बाहेक अन्य देशको मुद्रा सटही नगरेका कारण विभिन्न देशबाट आउने पर्यटकहरुले चढाएको मुद्रा कोषमै थन्किएको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले बताए।

नेपाल राष्ट्र बैंकले विभिन्न ९१ देशमध्ये २५ देशको मुद्रा मात्रै सटही गर्ने भएकाले अन्य ६६ देशको मुद्रा लुम्बिनी विकास कोषमै थन्किएको उनले बताए। १२ वर्षदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानपेटी राखिएदेखि नै ती मुलुकका पर्यटकहरुले चढाएको मुद्रा नसाटिएको उनले जानकारी दिए।

नसाटिएका देशका मुद्राहरु अलग-अलग कपडामा पोको पारेर राखिएपनि यति नै रकम छ भन्ने यकिन नभएको उनले बताए। नसाटिएकामध्ये सबैभन्दा धेरै श्रीलंका, म्यानमार, थाईल्याण्ड, कम्बोडिया, भियतनाम, लाओस,ईरान लगायत मुलुकका मुद्रा छन्।

सदस्य सचिव तामाङले चाईनिज र भियतनामको मुद्रा नेपालमा सटही हुने भएपनि ती देशहरुले नयाँ मुद्रा प्रचलनमा ल्याएका कारण पुराना मुद्रा सटहीमा समस्या भएको बताए। विदेशी मुद्रासँगै नेपाली सिक्का पैसा समेत सटहीमा समस्या भएको उनले बताए।

सदस्यसचिव तामाङले मन्दिर भित्र चढाइएका एक र दुई रुपैयाँका ६–७ क्विन्टल नेपाली सिक्का समेत सटही नभई थन्किएको बताए। सिक्का पैसा, गह्रुगो हुने र टाढाको बैंकमा लैजाँदा साट्ने रकमभन्दा ढुवानी भाडा महँगो पर्ने भएकोले समस्या भएको उनले बताए।

नसाटिएका नेपाली सिक्का र विदेशी मुद्रा सबै कपडामा पोको पारेर राखिएको छ। लुम्बिनी विकास कोषले भेटीबाट वार्षिक ४ करोड भन्दा बढी रकम आम्दानी गर्दै आएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.