|

दमक : पूर्वी नेपालमा बसोवास गर्ने किरातीहरुले आज बुधबार उभौली पर्व धुमधामका साथ मनाएका छन्। बाली लगाउने र उठाउने बेलामा किरात समुदायहरुले यो पर्व धुमधामका साथ मनाउने गर्छन्। झापासहित पूर्वी क्षेत्रमा किरातीहरुले यो पर्व विशेष कार्यक्रम गरी मनाएका छन्। किरात राई यायोक्खा, आदिवासी जनजाति माहासंघलगायत विभिन्न संघसंस्थाले झापाका विभिन्न क्षेत्रमा कार्यक्रमको आयोजना गरेका छन्।

उभौली पर्वको अवसर पारेर बुधबार इलामको दक्षिणी चुलाचुलीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। किरात राई यायोक्खा चुलाचुली गाउँसमितिको आयोजनामा साकेला नाच सम्पन्न भएको छ। विषेश गरेर राई जातिले नाच्ने यो नाचमा सहभागी हुन झापा र इलामका ७ वटा साकेला समूहहरुले सहभागिता जनाएको किरात राई यायोक्खा चुलाचुलीका अध्यक्ष देउप्रकाश राईले जानकारी दिए। उनले प्रत्येक वर्ष आयोजना गरिने कार्यक्रमअनुसार यो साकेला नाचको आयोजना गरिएको जानकारी दिए।

आफ्नो जातीय संस्कृतिको संरक्षणका लागि पनि यो पर्वमा विशेष कार्यक्रमको आयोजना गरिएको किरात राई यायोक्खाका अगुवा मनकुमार थुलुङ बताउँछन्। उनी भन्छन्, ‘सरकारले हाम्रो संस्कृतिको संरक्षणका लागि बजेट विनियोजन गर्दैन, यसकारण संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ, त्यसैले हामी आफंैले थोरै–थोरै रकम संकलन गरेर कार्यक्रम गर्दै आएका छौं।’

आफ्ना पुर्खाहरुले बाली लगाउने बेला उभौली र मंसिर पूर्णिमाका दिन बाली उठाउने बेले उधौली पर्व मनाउने गर्छन्। थुलुङ भन्छन्, ‘हाम्रा पुर्खाहरुले लेकमा बस्दा मंसिरमा जाडो हुने भएकाले आफ्ना गाई गोठका साथ मंसिरमा साकेला जाँच्दै, बाजागाजाका साथ बेसी झर्ने गर्थे, त्यसलाई उधौली भनियो, बेसीमा गर्मी बढेपछि साकेला नाँच्दै देवि–देउतालाई पूजा गर्दै  लेकतिर चढ्ने गर्थे, यो परम्पराको युवा पुस्ताले जानकारी पाऊन् भनेर साकेला नाचको आयोजना गरेका हौं।’

 चुनाव चिह्न नामक नाटक प्रदर्शन

यसैबीच, उक्त पर्वको अवसर पारेर चुलाचुली रंगमञ्चले स्थानीय निकायको निर्वाचनमा साना दलले चुनाव चिह्न नपाएको ब्यंग्य गर्दै ‘चुनाव चिन्ह’ नामक नाटक मञ्चन गरेको छ। नाटकमा देशमा चलिरहेको नयाँ नेतृत्व र पुरानो नेतृत्वको भूमिकालाई व्यंग्यमार्फत प्रस्तुत गरिएको छ।

नयाँ नेतृत्व र पुरानो नेतृत्वको विवादलाई नाकटमा समावेश गरिएको रंगकर्मी चेतन आङ्थोपोले बताए। नाटकमा उम्मेदवारका लागि आलु र पिडालुको रुपमा चुनाव चिह्नलाई राखिएको थियो।

नाटकमा केशव भुजेल, दिपिका धमला, जेम्स लिम्बू, विनिता आङ्थोपो, रञ्जित शंखर, विवेक खतिवडा, रोशनी हिङमाङ, प्रवीण मगर, सञ्जय लाम्गादे, शन्तोष गिरी र शेखर लाम्गादेलगायत कलाकारहरु सहभागी थिए। नाटकको परिकल्पना र निर्देशन मानाङ लावतीले गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.