|

काठमाडौं : आमसञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धिका लागि सरकारले सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति प्रेस चौतारी नेपालले आपत्ति व्यक्त गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आफ्नै संस्थापक नेताको नाममा गलत तथ्यहरु प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने  उद्देश्यका साथ कार्यक्रम ल्याउनु निन्दनीय रहेको भन्दै चौतारीले विरोध गरेको हो।

सञ्चारकर्मीको क्षमता विकासका लागि प्रतिष्ठान गठन गर्ने निर्णय स्वागतयोग्य हो। तर, आफ्नै पार्टीको संस्थापक नेतालाई गलत तथ्य प्रस्तुत गरेर जबरजस्त रुपमा स्थापित गराउन खोज्ने कार्य कुनै पनि मानेमा नमान्ने चौतारीले भनेको छ।

चौतारीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने तथ्य महासंघकै दस्तावेजबाट प्रमाणित भइसकेको अवस्थामा सरकारले गलत तथ्यको आधारमा कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघ (तत्कालीन संघ)को संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न खोज्नु र प्रतिष्ठानलाई राजनीतिकरण गर्नु आफैँमा ठूलो बेइमानी भएको ठहर गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘कसैको इतिहास र योगदानलाई नामेट पार्ने र आफ्नो पार्टीको संस्थापक नेतालाई आमसञ्चार प्रतिष्ठानको अगाडि फुर्को जोड्ने कामप्रति प्रेस चौतारी नेपाल गम्भीर आपत्ति प्रकट गर्दछ।’

यसअघि तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पालामा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको अगाडि आफ्ना संस्थापक नेताको नाम जोडेर कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान राख्न खोजिएपछि प्रेस चौतारी नेपाल लगायत सञ्चारसँग सम्बन्धित सबै संघ–संस्थाहरुले आपत्ति जनाएका थिए।

कडा शब्दमा विज्ञप्ति जारी गर्दै चौतारीका महासचिव हीरामान लामाले नियोजित रुपमा गरिएको यो गलत निर्णय तत्काल सच्याउन सरकारसँग जोडदार माग गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.