|

    विराटनगर : मोरङ सोराभागकी इन्दिरा उप्रेती पाहुनाहरूको लागि भान्साघरमा खानेकुरा ठिक्क पार्दै थिइन्। घरको माथिल्लो तलामा रहेको भान्सा घरमा पाहुनाका लागि मीठोमसिनो खानेकुरा पकाउने उनको इच्छा थियो तर उनको त्यो इच्छा पूरा हुन सकेन। पाहुनाका लागि उनले फलफूल, सलाद र मोही मात्रै पस्किन सकिन्। भान्सा घरमा पाक्ने परिकार भन्दा फरक खानेकुरा पस्किएपछि पाहुनाहरू पनि छक्क परे। भान्साघरकै खाना खाने टेबुलमा पस्किएका सबै परिकार तयारी (रेडिमेड) मात्रै थिए।

    झिँगा आतंकले समस्या खेपिरहेकी बेतौनाकी उप्रेतीले झिँगाकै कारण भान्साघरमा रेडिमेड बाहेकका परिकार बनाउन सकिनन्। विराट पोल्ट्री प्रालिको प्रदूषण र दुर्गन्धले गाउँमा झिँगा आतंक फैलिएको छ। भान्साघरको भित्ता, खाना खाने टेबल, किचन र्‍याक, खानेकुरा राख्ने र पकाउने भाँडाकुँडा जताततै झिँगैझिँगा।

    ‘खाना खान बस्यो कि जिउभरी नै झिँगा बस्छ,’ विराट पोल्ट्री फर्मको वातावरण प्रदूषण तथा झिँगा उन्मूलन संघर्ष समितिका अध्यक्ष राजेन्द्र मण्डलले भने, ‘गाउँभर झिँगा फैलिँदा यहाँ बिहेवारी नै रोकिएको छ, घरजग्गा किनबेच ठप्प भएको छ।’

    ४ वर्षअघि मोरङको सोराभाग–९ बेतौनामा स्थापना भएको विराट पोल्ट्री फर्मले फोहोर तथा दुर्गन्ध व्यवस्थापन नगर्दा वरिपरिका बस्तीमा झिँगा आतंक सिर्जना भएको छ। पोल्ट्री प्रालिले मानबस्तीमा झिँगाको आतंक हुँदा पनि फोहोर र सुली व्यवस्थापनमा ध्यान नदिँदा त्यस क्षेत्रका मानिस वर्षौंदेखि समस्यामा परेका छन्।

    प्रदूषण र झिँगा आतंक अन्त्यका लागि सरकारी पहल पर्याप्त नभएको आरोप लगाउँदै स्थानीयले केही सातायता पोल्ट्री प्रालिको गेटअगाडि नै धर्ना दिइरहेका छन्। वैशाख २० गते जिल्ला प्रशासन कार्यालय मोरङमा प्रदूषण र झिँगा आतंकका विषयमा अन्तिम छलफल राखिएको अध्यक्ष मण्डलले बताए। उनले २० गते समस्या समाधान नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।

    नेपालका १७ जना हाई प्रोफाइल व्यक्तिको लगानी रहेको पोल्ट्रीले निकै दबाब परेपछि दुर्गन्ध र झिँगा हटाउनका लागि अमेरिकाबाट आयात गरेको स्प्रे हरेक दिन छर्के पनि समस्या समाधान भएको छैन।

    झिँगा आतंकविरुद्ध रिले अनशन

    १ वर्षदेखि चरणबद्ध आन्दोलन गर्दै आएका स्थानीयले वैशाख २६ देखि फर्मको गेटमै २४ घण्टे रिले अनशन थालेका छन्। झिँगाले गर्दा स्थानीयहरूलाई खानपानमा अप्ठ्यारो भएको मात्रै होइन गाईवस्तु र लगाएको अन्नबालीसमेत प्रभावित भएको छ। पोल्ट्री फर्मबाट निस्केका झिँगाले बेतौना, आमतोला, रंगेली, कटुवाघाट, मंगलबारे, टिठैया, माझी टोल, खोरिया, झोडा, बबियाबिर्ता लगायतका स्थानमा दुःख दिने गरेको छ।

    त्यहाँका करिब २ हजार घरधुरीका ३० हजारबढी व्यक्तिहरूले झिँगाको मार खेप्नुपरेको छ। उनीहरूले घरभित्रै बनाएर खाना खाने, बस्ने वातावरण छैन। स्थानीयका अनुसार आँप, लिची, धान, तोरी र गहुँजस्ता अन्नबालीमा लागेको फूलमा झिँगा बस्दा उत्पादन हुन सकेको छैन।

    ‘ढोका खोल्यो कि मान्छेभन्दा पहिले झिंगाको हुल कोठाभित्र पस्छ’, बेतौनाकी सुष्मा आचार्यले बताइन्। उनले भनिन्, ‘यहाँका बालबालिका र वृद्धवृद्धाहरू बढी जोखिममा रहेका छन्।’ उनीहरूमा खोकी लाग्ने, खाना नखाने, वाकवाकी आउनेजस्ता समस्याले गर्दा दिनहँु अस्पताल लैजानुपरेको आचार्यले बताइन्।

    उनले भनिन्, ‘केटाकेटीहरू बाहिर खेल्दै खाँदा उनीहरूको मुखमा र खानामा झिँगाले पूरै छोप्ने गरेको छ।’ भाँडा मोलेर राख्दा र लुगा धोएर सुकाउँदा पनि झिँगाको गोला नै बस्ने हुँदा सफा भएर बस्न सक्ने अवस्था छैन।’ आमतोलाकै सूर्यबहादुर कार्कीले भने, ‘हाम्रो घरमा बसिसक्नु छैन।’ यसको सरकारले तुरुन्तै समाधन नगरे जस्तोसुकै आन्दोलन गर्न तयार छौं।

    निरन्तर आन्दोलन, समाधान शून्य

    झिँगाबाट आजित भएपछि विराट पोल्ट्री फर्म वातावरण प्रदूषण तथा झिँगा उन्मूलन संघर्ष समिति नै गठन गरेर स्थानीयले आन्दोलन थालेका हुन्। स्थानीयवासीले १० महिनाअघि गरेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय मोरङलगायत अन्य सरोकारवाला कार्यालय समेतमा बसी झिँगा नियन्त्रण गर्न कार्यदल गठन गर्नुका साथै सरसफाइ लगायतको विषयमा सहमति भएको थियो। सो सहमति हालसम्म कार्यान्वयन नभएको संघर्ष समितिकी सचिव इन्दिरा उप्रेतीले बताइन्।

    ‘गत पुस २७ गते सिडीओमार्पmत उद्योग सचिव र मन्त्रालयमा पोल्ट्री फर्म खारेजीको माग राख्दै निवेदन दर्ता गराइसकेका छौं।’ स्वयं मन्त्रालयका सचिव शंकर कोइरालालाई भेटी यहाँको वस्तुस्थिति भन्नुका साथै तस्बिर र झिँगा आतंकको भिडियोसमेत देखाएको उप्रेतीले बताइन्।

    उद्योग दर्ता प्रक्रिया गर्दादेखि नै कानुनी प्रक्रिया पूरा नगरी सोर्सफोर्सको भरमा पोल्ट्री स्थापना गरेको स्थानीय गोविन्द खतिवडाले बताए। ‘४ वर्षदेखि पटक–पटक सहमति गर्दै आए पनि केही सुधार गर्नेतर्पm उद्योगले ध्यान दिएको छैन। अब हामी अन्तिम आन्दोलन गर्छौं। त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्छ’, खतिवडाले भने।

    अनुगमन भयो, आतंक समाधान भएन

    सो क्षेत्रको निरीक्षण गर्न सरकारी अनुगमन टोली वैशाख १८ गते आएको थियो । पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीको टोलीले पोल्ट्री फर्म र स्थानीयको घरको अनुगमन गरेको थियो। फर्मबाट निस्केको दुर्गन्ध र झिँगाका कारण हैरान भएका स्थानीयले मन्त्रालयको टोलीसमक्ष पोल्ट्री फर्म विस्थापित गरी सहज रूपमा बाँच्न पाउने अधिकार स्थापना गर्न माग गरेका थिए।

    पोल्ट्री फर्मले उद्योग दर्ता प्रक्रिया पूरा नगरेको साना तथा घरेलु कार्यालय मोरङका अधिकृत अर्जुन निरौलाले बताए। यो उद्योग सिधै विभागमा दर्ता भएको देखिन्छ। चैत अन्तिममा उद्योग विभागले फर्मलाई पत्राचार गर्दै दर्ता प्रक्रिया पूरा गर्न भनेको निरौलाले बताए। उनले भने, ‘उद्योग दर्ता गर्दा अपनाउनुपर्ने वातावरण प्रभाव मूल्यांकन, ह्याचरीको अनुमति, अण्डा बिक्रीको अनुमति लिएको देखिँदैन।’

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.