|

चितवन : चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका वडा नम्बर ११ मा सुकराम चेपाङ (प्रजा) नयाँ उम्मेदवार बनेका छन्। उनलाई बिहीबार नै चुनाव चिह्नसमेत दिइसकिएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए। सो वडामा २ जेठमा मतदान हुनेछ।

वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र) बाट कालिका नगरपालिका वडा नम्बर ११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो। रिक्त रहेको ठाउँमा नयाँ उम्मेदवार आउनुपर्ने भएकाले निर्वाचन २ दिन ढिला गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले वैशाख २८ गते उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी, चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिए।

त्यो वडामा निर्वाचन कार्यतालिका सार्वजनिक भई २ गतेका लागि मतदान तोकिएकाले मौन अवधि लागू नभएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार मतदानको दिनको ४८ घण्टा अघिसम्म उक्त वडामा मात्रै प्रचार गर्न उम्मेदवारलाई छुट रहेको छ।

सात स्थानीय निकायमध्ये चितवनको ५ नगरपालिकामा चेपाङको बसोबास बढी रहेको कालिका नगरपालिकामा ५७ जनप्रतिनिधिका लागि २ सय ४७ जनाको उम्मेदवारी परेको छ। जिल्लाका अन्य क्षेत्रमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र मतदान केन्द्रभित्र भने बुथ बनाउने काम तीव्र्र भएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.