|

सर्लाही: नेपाल प्रज्ञा–प्रतिष्ठान (काव्य विभाग) र सर्लाही साहित्य समाज, लालबन्दीद्वारा संयुक्त रूपमा सर्लाहीको लालबन्दीमा काव्य उत्सव सम्पन्न भएको छ। 
शुक्रबार आयोजित कार्यक्रममा सर्लाहीको काव्यमाथि विमर्श गरिनुका साथै काव्यवाचनसमेत गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले राजधानी र मोफसलको दूरी कम गर्ने, मोफसलमा काव्यिक जागरण ल्याउने र समकालीन नेपाली कविताका क्षेत्रमा सर्लाही जिल्लाको योगदान के छ भनेर संवाद र विमर्श गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए। 

प्रतिष्ठानले हीरक महोत्सव मनाइरहेको सन्दर्भमा देशका विभिन्न भागमा वाङ्मयिक कार्यक्रमहरूको आयोजना गरिरहेको सुनाउँदै गिरीले आत्मिक विकासका लागि कविताको अहं भूमिका रहने उल्लेख गरे। कविताले जस्तो आत्मिक र मानसिक आनन्द अरू कुराले दिन नसक्ने उनको धारणा थियो। 

काव्य विभाग सदस्य प्राज्ञ शशि लुमुम्बूले हिमाल, पहाड र तराईलाई एकताको सूत्रमा बाँध्न साहित्यिक कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

कार्यक्रममा सुमनप्रसाद घिमिरेले ‘समकालीन नेपाली कवितामा सर्लाहीको योगदान’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि विप्रहरि दाहाल र पार्थमणि भट्टराईले टिप्पणी गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.