|

काठमाडौँ: वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले शनिबार राजधानी काठमाडौँमा बालबालिकासहित २२ स्रष्टालाई नइ पुरस्कार समर्पण गरे।

नइ प्रकाशनले हरेक वर्ष वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

नेपाल सरकारबाट वाङ्मय शताब्दी पुरुषको उपाधिबाट विभूषित भएका उपलक्ष्यमा नइ प्रकाशनका तर्फबाट डा. सत्यमोहन जोशीलाई जरी जडित दुबोको माला लगाएर बधाई ज्ञापन गरियो। उनलाई प्रा. शिवगोपाल रिसालले माला लगाएर वाङ्मय शताब्दी पुरुषको थप कीर्तिमय र दीर्घ जीवनको कामना गरे। उनको ९८ औँ शुभजन्मोत्सवका अवसरमा नइबाट उनलाई शुभकामना अर्पण गरिएको थियो।

डा. सत्यमोहन जोशीले दुई लाख रुपियाँ राशि र ताम्रपत्रसहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार भारतका नेपाली स्रष्टा श्रीमती विन्द्या सुब्बालाई समर्पण गरे। विगत पाँच दशकअघिदेखि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय बिस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएवापत उनलाई सो पुरस्कार समर्पण गरिएको हो। यो पुरस्कार नेपाली-गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।

त्यसै गरी साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य डा. मोदनाथ प्रश्रितलाई 'नइ खरा सुकीर्ति पुरस्कार' समर्पण गरिएको छ। उनलाई नेपाली भाषासाहित्यमा छ दशकअघिदेखि अहोरात्र समर्पित रहँदै पृथ्वीनारायण शाहको नेपाल एकीकरणबारेको महत्ता जनजनमा फैलाउनुका साथै संस्कृति, चित्रकला र आयुर्वेदका क्षेत्रमा समेत पुर्‍याएको योगदानका निम्ति सो पुरस्कार समर्पण गरिएको प्रकाशनले जनाएको छ।

यसरी नै सनातन हिन्दू धर्म संस्कृतिको सम्वर्द्धन, संरक्षण र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा. शिवगोपाल रिसाललाई 'नइ चन्द्रधन पुरस्कार' समर्पण गरिएको छ।

आधुनिक नेपालको एकीकरणबाट निर्मित राष्ट्रिय भौगोलिक सिमाना तथा अखण्डताको व्यवस्थापन र सुरक्षाबारे वैज्ञानिक अनुसन्धानद्वारा जनचेतनाको अभिवृद्धि गराई मातृभूमिप्रति गरेको विशिष्ट योगदानका निम्ति बुद्धिनारायण श्रेष्ठलार्इ 'नइ कीर्तिनिधि पुरस्कार' समर्पण गरिएको नइ प्रकाशनले जानकारी दिएको छ।

यी तीनै पुरस्कार ताम्रपत्रसहित जनही एक लाख रूपियाँ राशिका रहेका छन्।

समारोहमा ताम्रपत्रसहित अन्य सात जनालाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कारसमेत समर्पण गरिएको थियो। 

संस्कृति, ज्योतिष र तन्त्रशास्त्रका लागि डा. जगमान गुरूङलाई 'नइ भूपालदुर्गा पुरस्कार', नारी जागरण तथा साहित्यका लागि शान्ता श्रेष्ठलाई 'नइ खरा प्रसिद्धि पुरस्कार', साहित्यका लागि कञ्चन पुडासैनीलाई 'नइ ईश्वरवल्लभ पुरस्कार' र चित्रकलातर्फ विजय थापालाई 'नइ यउजा पुरस्कार' समर्पण गरिएको नइ प्रकाशनले जनाएको छ।

त्यसै गरेर मुलुक बाहिर बसेर नेपाली भाषाको सेवा गर्ने सुरेशजङ्ग शाहलाई 'नइ गणेशदुर्गा पुरस्कार', काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सेवाका निम्ति चितवनका  गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई संयुक्त रुपमा 'नइ बुलु शर्मा' पुरस्कार र रूपन्देहीका अजम्बरध्वज खातीलाई 'नइ धनरूप पुरस्कार' समर्पण गरिएको छ। 

साहित्य, चलचित्र तथा सङ्गीतका क्षेत्रमा गरेको योगदानका लागि धीरेन्द्र प्रेमर्षिलाई २५ हजार रूपियाँ राशिको 'नइ खरा गौरव पुरस्कार' र नाटक, समाजसेवा तथा मनोविज्ञानका लागि सुश्री नानी थापालाई १५ हजार रूपियाँका साथ 'नइ खरा पौरख पुरस्कार' समर्पण गरिएको नइद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

नइ प्रकाशनले आआफ्नो अध्ययनमा समर्पित भई विविध वाङ्मयिक गतिविधिमा प्रतिष्ठा आर्जन गर्ने १५ वर्षसम्मका छ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपियाँ राशिसहित 'नइ देरुनीखपू बाल पुरस्कार' समर्पण गरेको छ। 

यसरी पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ शाश्वत घिमिरे, साहित्यतर्फ अर्चना उप्रेती, चित्रकलातर्फ सौजन्य श्रेष्ठ, गायनतर्फ किम्ती श्रेष्ठ, नृत्यतर्फ श्रीया शाक्य र खेलकुदतर्फ कमलबहादुर थापा मगर रहेका छन्।

त्यसै गरी १० वर्ष उमेर समूहका एञ्जेल राईलाई गायन तथा सम्राज्ञीश्री बस्नेतलाई नृत्यका लागि ताम्रपत्रका साथ सात हजार रूपियाँ राशिसहित नइ देरुनीखपु कोपिला पुरस्कार र पाँच वर्षकी प्रिन्सा विश्वकर्मालाई ताम्रपत्रका साथ पाँच हजार रूपियाँ राशिसहित नइ देरुनीखपु चिचिला पुरस्कार समर्पण गरिएको छ।

समारोहमा वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट विभिन्न लेखकका चार कृति लोकार्पणसमेत गरिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.