|

एजेन्सी : ओशामा बिन लादेनका छोरा आफ्ना बाबुको मृत्युको बदला लिन चाहन्छन्। उनी बाबुको पदचाप पछ्याउँदै पश्चिमा मुलुकसँग युद्द गर्न चाहन्छन्।

चर्चित अमेरिकी न्युज शो '६० मिनेट' को आगामी एपिसोडमा पूर्व एफबीआई एजेन्टको यस्तो दाबी सार्वजनिक हुनेछ। यस कार्यक्रममार्फत सन् २०११ मा अमेरिकी नेभीले हत्या गरेका भनिएका बिन लादेनका विषयमा खोजमूलक रिपोर्ट 'अन एयर' हुँदैछ।

लादेन हत्यासँग जोडिएका थुप्रै कागजातहरुको परीक्षण गर्दै खोजमुलक कार्यक्रम तयार पारिएको छ। प्राप्त कागजहरुमध्ये एक कागजमा बिन लादेनका छोरा हम्जाले आफ्ना बाबुका हत्याराहरुलाई नछाड्ने उल्लेख गरेका छन्। उनले अलकायदाप्रति आफु पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। हम्जा अहिले २८ वर्षको भएको अनुमान लगाइएको छ।

पूर्व एफबीआई एजेन्ट अलि सोउफानका अनुसार हम्जाले लादेनलाई सम्बोधन गर्दै लेखेको पत्रमा यस्तो उल्लेख थियो। 'हरेक हेराईमा…। तिमीले दिएका हरेक मुस्कानमा, तिमीले भनेका हरेक अक्षरमा.। म प्रतिबद्ध छु। जिहाद पथ भगवानका लागि नै हामी बाँचेका छौं।'

यो चिट्ठी लेख्दा हम्जा २२ वर्षको रहेको अनुमान लगाइएको छ। यस विषयलाई लिएर केही सुरक्षा विज्ञहरुले हम्जालाई अल कायदाको भविष्यको नेता भनेर समेत प्रचार गरेका थिए। बिन लादेन मृत्युअघिसम्म अल कायदाका नेता थिए।

सेप्टेम्बर ११ को आक्रमणका सम्बन्धमा छानविन गर्ने क्रममा एफबीआईको नेतृत्व गरेका सोउफानले अलकायदाले हम्जालाई बाल्यकालदेखि नै प्रवर्द्धनात्मक भिडियोमा प्रयोग गर्ने गरेको बताए।

सोउफानका अनुसार तयार भएका घोषणा तथा सुचनाहरु हम्जाले पढ्थे र त्यसैलाई भिडियो बनाएर अलकायदलाई प्रचारमा ल्याउँथ्यो।

  'उनी अलकायदाको पोस्टर किड थिए। अलकायदका सबै सदस्यहरु जसले प्रवर्द्धनात्मक भिडियो बनाउँथे। उनीहरुका लागि हम्जा हुनुको महत्व बेग्लै थियो,' पूर्व एफबीआई एजेन्ट सोउफानले भन्छन्।

सन् २०१५ मा अलकायदाले हम्जाको अडियो भाषण सार्वजनिक गरेको थियो। यस अडियोमार्फत हम्जाले लण्डन,वासिङटन र पेरिसमा आक्रमण गर्नका लागि आव्हान गरेका थिए।

पछिल्ला दुई वर्षमा हम्जाले पश्चिमा विश्वको विरुद्धमा आक्रमण गर्न आव्हान गर्दै ४ भिडियो रिलिज गरेका छन्।

सोउफान भन्छन्,'उनले के भन्न खोजेका हुन् भने हामी आउँदैछौं र अमेरिकी जनताले बुझ्नेछन्। हामी मेरो बुबामाथि भएको बर्बरताको बदला लिनेछौं। इराक र अफगानिस्तानमाथिको आक्रमणको बदला लिनेछौं र सबै कुरा बदलामै अडेको छ।'

यसै वर्षको जनवरीबाट अमेरिकी सरकारले हम्जालाई 'स्पेशल्ली डिजाइनेटेड ग्लोबल टेरोरिस्ट'को सूचीमा राखेको छ। यही सूचीमा उनका बाबु ओशामालाई राखिएको थियो।

ओशामा बिन लादेनको हत्या मेइ २, २०११ मा अमेरिकी नेभीले पाकिस्तानको अब्बोट्टाबादमा गरेको अमेरिकी दाबी छ। ओशामाको हत्यापछि उनले परिवार, साथीभाई र अलकायदाका वरिष्ठ सदस्यहरुका नाममा लेखेका थुप्रै गोप्य चिट्ठीहरु सार्वजनिक भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.