|

काठमाडौँ: टेकोको भरमा उभिएको घरमा विभिन्न पार्टीका झन्डा ठडिएका छन्। घरको बाहिरी भित्तोमा पार्टीका ब्यानर छन्। दलानमा ७४ वर्षका धनबहादुर तामाङ नमुना मतपत्र हेरेर बसिरहेका छन्। राजधानी काठमाडौँको श‌ंखरापुर नगरपालिकाका यी वृद्ध मतदाता आइतबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सहभागी हुँदै छन्। तर उनलाई मत कसरी हाल्ने भन्ने आजसम्म थाहा छैन।

'भोट हाल्ने दिन आयो हैन त बा?

'डेन्जर छा, हो नानी डेन्जर', धनबहादुर रोकिए।

'कसरी डेन्जर बा?'
'प्रधानपञ्च छान्न भोट हालो, गाविस अध्यक्ष छान्न यही ज्यानले भोट हालो, पहिलो संविधानसभामा बिरामी भएर हाल्नाँ पाएन, दोस्रोमा चाहिँ हाल्यो। अहिले आएर भोट खेरा जान्छा कि भन्ने लागेको छ', धनबहादुरले एकै सासमा बताए।

उनले थपे, 'सातसात ठाउँमा भोट हाल्नुपर्ने र'छ, भोट के होला भन्ने छ।'

मतदाता शिक्षा प्रभावकारी नभएपछि शंखरापुर नगरपालिकाका अधिकांश वृद्धवृद्धाको चिन्ता धनबहादुरको जस्तै छ। आफूहरूले मतादाता शिक्षा नपाएको कतिपयको गुनासो छ। ७३ वर्षका पुण्यप्रसाद दंगालले भोट कसरी हाल्ने भन्ने सिकाउन अहिलेसम्म घरमा कोही नआएको दुखेसो गरे। 'बुढाबुढी भएको  घरमा कोही आउँदोरहेनछ बाबू!', उनले भने, 'पहिले त सजिलो थियो, अहिले कसरी भोट हाल्ने केही थाहा छैन। भोलि सिकाउँछन् कि!'

दंगालकी छिमेकी ६५ वर्षकी वीरमाया लामिछाने हाम्रो कुराकानीलाई निकै चाख दिएर सुनिरहेकी थिइन्। उनलाई पनि भोट हाल्ने तरिकाबारे जानकारी रहेनछ। उनी पनि मतदान केन्द्रमै कसैले सिकाउलान् भन्ने आशमा थिइन्। 'भोट हालेको धेरै अनुभव छ तर अहिलेको अलि अप्ठ्यारो छ भन्छन्', उनले भनिन्, 'कसैले सिकाउलान् नि भोलि।'

मत खेर जाला कि भन्ने चिन्ताका बीच उनीहरूमाझ उत्साहसमेत छ। २० वर्षपछि स्थानीय तहमै सरकार बन्ने जानकारी पाएका उनीहरू खानेपानी, बाटोलगायत आवश्यकता पूरा हुने र अन्य काममा  सहज हुन्छ भन्ने अपेक्षा राखेर बसेका थिए। शंखरापुरमा खानेपानी र बाटोको समस्या भएकाले धेरैले खानेपानी सहज हुनुपर्ने माग गरेका छन् भने केहीले बाटो राम्रो हुनुपर्ने बताएका छन्। 

७३ वर्षका  पुण्यप्रसाद दंगालले घरअघिको हिलाम्मे बाटो देखाउँदै भने, 'पञ्चायतकालदेखि कालोपत्रे गर्ने भनेको यो बाटोको हालत अहिलेसम्म उस्तै छ', उनले भने, 'अहिले पनि बाटो राम्रो बनाउने भन्दै चुनाव उठेका छन्, केही होला कि!' 

उनकी छिमेकी ६५ वर्षकी वीरमाया लामिछानेलाई भने पानीको पिरलो छ। धारामा पानी नआउँदा वृद्ध ज्यानले अलि परैबाट पानी ओसार्नुपरेपछि उनले खानेपानी सहज गराउलान् कि भन्ने आशा गरेकी छन्। 'पानीको साह्रै समस्या छ नानी, मलाई त खानेपानी घरमै थाप्न पाए हुन्थ्यो भन्ने लाग्छ, केही गर्लान् कि', उनले भनिन्।

घर टेकोमा र ज्यान लौरोको भरमा अडिएको धनबहादुर तामाङलाई भने भूकम्पले बाँकी राखेको घर सडक बिस्तारका कारण लाने हो कि भन्ने चिन्ता छ। उनले स्थानीय सरकारबाट सही ठाउँमा स्थानान्तरण र उचित राहतको अपेक्षा राखेका छन्। 'भूकम्पले घर लान सकेन, टेको लगाएर अडाएको छ, बाटो बढाउने भन्छ, यो कुप्रो परेको ज्यान कहाँ लुकाउने भन्ने चिन्ता छ', उनले भने, 'अर्को ठाउँमा सार्छा कि भन्ने आश छ।'

भोट बदरको चिन्ता, मताधिकार प्रयोगको उत्साह र निर्वाचित हुने जनप्रतिनिधिप्रति आशा लिएर उनीहरू मतदानको व्यग्र प्रतीक्षा गरिरहेका छन्। देशभर भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.