राति २ बजेदेखि लाइनमा

|

सर्लाही : राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राही बिहानको २ बजेदेखि लाइनमा बस्न थालेका छन्। इलाका प्रशासन कार्यालय हरिवनमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चाप अत्यधिक रहेकाले उनीहरू रातिदेखि नै लाइनमा बस्न बाध्य भएका हुन्।

बागमती नगरपालिका–३,जिरायतका दिनेश विश्वकर्मा राष्ट्रिय परिचयपत्रको फाराम भर्न इलाका प्रशासन कार्यालय हरिवनमा लगातार तीन दिन धाए।

राति २ बजे लाइनमा आएर बसेका विश्वकर्माको बिहीबार भने कार्यालय खुलेपछि बल्ल फाराम भर्ने पालो आयो। ‘यहाँ त टोकन प्रणाली लागू रहेछ, टोकन लिनै तीन दिन लाग्यो’, बिहीबार दिउँसो कार्यालय परिसरमा भेटिएका उनले भने, ‘ठूलो संघर्षले टोकन हात पारेर आज बल्ल फाराम भरेँ, युद्ध जिते जस्तो भयो।’

सरकारले पर्याप्त कर्मचारी र स्रोत साधनको व्यवस्था नगर्दा राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्न आउने आफूजस्ता कैयौँ सेवाग्राहीले दुःख खेपिरहेको विश्वकर्माले सुनाए। टोकन लिनकै लागि सेवाग्राहीहरू हरेक दिन राति २/३ बजेदेखि नै लाइनमा आएर बस्ने गर्छन्।

टाढा घर भएका सेवाग्राहीलाई त्यसरी उज्यालो नहुँदै लाइनमा आएर बस्न समस्या छ।

यसैगरी हरिवन–५, डुम्रीघारीका साजन मगरले पनि राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्न दुई दिनसम्म इलाका प्रशासन कार्यालयमा धाउनु पर्‍यो।

मङ्गलबार र बुधबार दुई दिन लगातार धाएपछि घिमिरेले पनि फाराम भरेर फर्किनुभएको छ। ‘मेरो कार्यालयमा छुट्टी भइरहँदैन, जसरी पनि फाराम भरिदिनुहोस् भनेर कर्मचारीसँग हारगुहार गरेँ, त्यसपछि बल्ल फाराम भरिदिएँ’, मगरले भने।

इलाका प्रशासन कार्यालय हरिवनको परिसर राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीडले दैनिक भरिभराउ हुन्छ। कार्यालयका प्रमुख गुणबहादुर भुजेलले सेवाग्राहीको चाप थेग्नै मुस्किल परिरहेको जानकारी दिए।

भुजेलका अनुसार हरिवनबाट अहिले राष्ट्रिय परिचयपत्रका लागि दैनिक ६० देखि ७० वटासम्म फाराम भर्ने गरिएको छ। ‘केही दिन अघिसम्म दैनिक ४० जना सेवाग्राहीलाई टोकन बाँड्थ्यौँ र अरूलाई फर्काइन्थ्यो तर अहिले भने जति जना सेवाग्राही आए पनि टोकन दिने गरेका छौँ तर टोकन दिएका सबैको काम गर्न भ्याइँदैन’, कार्यालय प्रमुख भुजेलले भने, ‘१०० वटा टोकन बाँड्दा ६० देखि ७० जनाको मात्रै फाराम भर्न भ्याइन्छ, टोकन दिएर पनि काम गर्न नभ्याएकालाई भोलिपल्ट बोलाउने गरेका छौँ।’

राहदानी (पासपोर्ट) बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि सेवाग्राहीको भीड बढेको इलाका प्रशासन कार्यालयका प्रमुख भुजेलले बताए। ‘कक्षा १२ को परीक्षा सकिएलगत्तै वैदेशिक रोजगारीमा जान खोज्नेहरू बढ्नु भएको देखिन्छ। त्यसैले पनि राष्ट्रिय परिचयपत्र र राहदानी फाँटमा भीड लागेको हो’, भुजेलले भने।

राष्ट्रिय परिचयपत्रको काम गर्न दुईजना कर्मचारी रहेका र तीमध्ये एकजनाले सेवाग्राहीको फाराम भर्ने र अर्कोले कम्प्यूटरमा विवरण चढाउने काम गर्ने गरेको इलाका प्रशासन कार्यालय हरिवनले जनाएको छ। जनशक्तिको अभाव र वेलावेला सर्भर ‘डाउन’ हुने समस्या रहेको कर्मचारीहरूले बताएका छन्।

सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलंगवा र इलाका प्रशासन कार्यालय हरिवन गरी दुई ठाउँबाट राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्ने गरिन्छ। हरिवनमा जस्तै जिल्ला प्रशासन कार्यालय मलंगवामा पनि राष्ट्रिय परिचयपत्र र राहदानीका लागि सेवाग्राहीको अत्यधिक भीड छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले अहिले राष्ट्रिय परिचयपत्र नभई राहदानी नबन्ने भएकाले राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको चाप बढेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.