|

काठमाडौँ: दुई दशकपछि भइरहेको स्थानीय निर्वाचनमा मतदाताहरू उत्साहका साथ सहभागी भएका छन्। काठमाडौँ महानगरपालिका-११ निवासी मिश्री गिरी (७२) एकाबिहानै मीनभवनमा रहेको भीएस निकेतन मतदान केन्द्रमा उपस्थित भइसकेकी थिइन्। जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने भएका कारण केन्द्रमा आएको केही समयमै मिश्रीले भोट हाल्ने मौका पाइहालिन्।

२०२० सालदेखि काठमाडौँमा बसोवास गर्दै आएको बताउने मिश्रीले पहिले ५/५ वर्षमा हुने निर्वाचन अहिले भने निकै लामो समयपछि मात्र भएको प्रतिक्रिया दिइन्। 'भोट त धेरैपटक हालेँ। खै कतिपटक हालेँ भन्‍ने त बिर्सिएँ', उनले भनिन्, '२०२० सालदेखि काठमाडौँमा छु। पहिले ५/५ वर्षमा भोट हाल्ने हुन्थ्यो, अहिले अलि ढिलो आयो।'

नजिकै पनि भएको र बिहानै चिसो पनि हुने भएकाले भोट हाल्न बिहानै आएको मिश्रीले बताइन्। उनले भनिन्, 'घरबाट नजिकै पनि छ, त्यसैले बिहानै आएको, भरे फेरि गर्मी होला भनेर।'

काठमाडौँ महानगरपालिका- ३१ स्थित कौटल्या स्कुल, सुविधानगर तीनकुने केन्द्रमा मतदान गर्न आएका रणबहादुर शिवभक्ति (५०) ले बिहानै मतदान गरेको बताए। यसअघि संविधानसभा चुनावमा दुई पटक मतदान गरेका शिवभक्तिले काभ्रेको चौरी देउरालीमा यसअघिको स्थानीय निकायको निर्वाचनमा मतदान गरेको बताए। 'काठमाडौँमा पहिलो पटक मतदान गरेँ। यसअघि काभ्रेको चौरी देउरालीमा मतदान गर्दै आएको थिएँ', उनले भने। काठमाडौँमा फर्निचर व्यवसाय गर्दै आएका उनको बसाइ पनि यतै भएकाले यसपालि काठमाडौँमा पहिलो पटक मतदान गरेका हुन्। उनले आफू राजनीतिक कार्यकर्ता नभएर समर्थन मात्र गर्ने बताए।

मीनभवनस्थित सहकारी तालिम केन्द्रमा अभिनेत्री लक्ष्मी गिरी पौडेल (६४) मध्य दिउँसो मतदान गर्दै थिइन्। मतदान गरिसकेपछि अभिनेत्री गिरीले आफूले पहिले भोट दिएको पार्टीलाई नै अहिले पनि भोट दिएको बताइन्। 'मैले वि. सं. २०३८ देखि भोट हाल्दै आएको छु। वि. सं. २०५४ सालमा र अहिले एउटै पार्टीलाई भोट दिएकी छु', उनले भनिन्, 'यसपालि वडाका प्रतिनिधिलाई भने पार्टी होइन, व्यक्ति छनोट गरेर मत दिएकी छु।' वडामा काम गर्ने राम्रो मान्छे चाहिने उनको धारणा छ। अभिनेत्री गिरीले कसैले केही नदिए पनि आफू प्रतिवद्ध भएको पार्टी छाड्न नसकिने बताइन्।

करुणा कोइराला (३०) ले बिहानै भोट हालेको बताइन्। पहिलो र दोस्रो पटकको संविधानसभाको निर्वाचनमा गरी दुई पटक भोट हालेको भन्दै उनले स्थानीय निर्वाचनमा भने पहिलो पटक सहभागी भएको बताइन्। 'पार्टीको बारेमा त्यति धेरै थाहा छैन तर यसपालिसमेत गरी तीन पटक भोट हालेँ', उनले भनिन्, 'पहिलेभन्दा यसपालि अलि सजिलो भयो, लाइन छोटो रहेछ।'

काठमाडौँ महानगरपालिका- ३४ की मेनुका धिताल (८५) ले २००७ सालदेखि मत हालिरहेकी छन्। पहिलेदेखि नै भोट हाल्दै आएकाले यसपालि पनि छाड्न मन नलागेको उनले बताइन्। 'धेरै पटक भोट हालिसकेँ। २००७ सालदेखि अहिलेसम्म भोट हाल्दै आएकी छु', उनले भनिन्, 'यसपालि ७/८ जना मतदाता नामावलीमा नाम नभएकाले छुटे। पहिले नामावली चाहिँदैनथ्यो। अहिले त फोटो खिच्ने केके भन्छन्।'

सूर्यकुमारी ठाकुर (७५) पनि लामो समयदेखि मतदान गर्दै आएकी छन्। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि सहभागी भएकी उनले यसपालि परिवारको सहयोगमा मतदान केन्द्रसम्म आएको बताइन्। 'भोट त हाल्दै आएकी छु। २०५४ सालमा पनि भोट दिएकी थिएँ', उनले भनिन्, 'अहिले पनि दिएकी छु। पहिले पार्टीलाई भोट दिन्थेँ, उनीहरूले केही गरेनन्। यसपालि उम्मेदवार छानेर भोट दिएकी छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • After 2 decades pachi election vayeko ma dherai khusi lagyo. But vote dina janda aafnai naam nahunda man khinna lagyo. Yo ta election aayog ko kamjori lagyo. Jab ki mero buba dead vako 4 yrs vhayo Tara pani uhan ko voter list ma naam cha mero chaina. Nirbachan aayog le pahila ta ghar ghar ma aayera voter list magthiyo ahile ta testo kehi chaina. Matadan parichaye patra lina miking gareko vhaye hunthiyo Tara teso garena. So ma justo aru pani dherai chan matadan garna napayeko, aba hami le k garum ta..