साइनोभ्याक्स खोप ल्याएर थन्काइयो

|

काठमाडौं : साउन ७ गतेसम्म नलगाए हाल मौज्दात १० लाख मात्रा कोभिसिल्ड खोप खेर जाने भएको छ।

कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन ७ गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर जान लागेको हो।

स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार पछिल्लो पटक आएको कोभिसिल्ड खोपको म्याद जुलाई २३ सम्म लगाइ सक्नुपर्ने म्याद रहेको हुँदा त्यस वेलासम्म नलगाए म्याद गुज्रिएर खेर जाने बताए। 'कोभिसिल्डको म्याद कम रहने भएकाले सकेसम्म चाँडै लगाउन अघि सारिए पनि पछिल्लो समय खोप लगाउने कम हुँदा खपत नभएर खोपको म्याद गुज्रिन लागेको हो'‚ उनले भने, ‘बुस्टर डोज लगाउँदा धेरैले फाइजर सहितको अन्य खोप लगाएको हुँदा पनि यो खोप खपत कम भएको हो।'

हाल मोडर्नाको पनि ६७ हजार डोज अर्थात् ६ हजार ७०० भाइल खोप म्याद गुज्रिएर खेर गएको बताइएको छ। यो संख्या अझै बढ्न सक्ने फार्मेसी अधिकृत थापाले भने'‚  खोप स्थानीय तहबाट लगाइएको छ, जसले गर्दा यो संख्या अझै बढ्न सक्छ।'  

अन्य खोप पनि छिट्टै नलगाए म्याद गुज्रिने अवस्थामा

यस्तै कोभिसिल्ड मात्रै नभएर हाल नेपालमा रहेको बालबालिकाले लगाउने बाहेकको फाइजर, जनसन एण्ड जनसन खोपको पनि अक्टोबरसम्म नलगाए म्याद गुज्रिने अवस्थामा रहेको उनले बताए। ‘५ देखि ११ वर्ष सम्मका बालबालिकाले लगाउने  फाइजर खोप बाहेक हाल हामीसँग रहेको अन्य खोपको म्याद पनि  अक्टोबरसम्म छ, त्यस वेलासम्म लगाउन सकिएन भने यी खोपको पनि म्याद गुज्रिन्छ’‚ उनले भने।

७० लाख खोप मौज्दात

हाल केन्द्र, प्रदेश र जिल्ला गरी देशभर ७० लाख मात्रा खोप मौज्दात रहेको समेत थापाले बताए। उनका अनुसार ७० लाखमा ४० लाख डोज खोप फाइजर, जनसन एण्ड जनसन, अस्ट्राजेनिका साइनोभ्याक्स रहेको र बाँकी खोप ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लगाउने पेडियाट्रिक फाइजर खोप रहेको उनले बताए। ‘हाल केन्द्र र प्रदेशमा गरी गरी लगभग ७० लाख मात्रा खोप मौज्दात छ, ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लगाउने पेडियाट्रिक फाइजर खोप हाल प्रयोग भइरहे पनि अन्य खोप लगाउने कम हुँदा खपत कम भइरहेको छ’‚ उनले भने।

साइनोभ्याक्स खोप ल्याएर थन्काइयो

यता गत चैतमा चीनको सहयोगमा आएको ४० लाख मात्रा साइनोभ्याक्स खोप भण्डारकक्षमै थन्किएर बसेको छ। सो खोप ल्याएर प्रयोग नगरीकन हाल टेकुस्थित केन्द्रीय खोप भण्डारकक्षमा भण्डारण गरेर राखिएको फार्मेसी थापाले बताए। ‘ हाल हाम्रोमा आएको खोपभन्दा यो खोपको लगाउन मिल्ने म्याद धेरै रहेछ। यो खोप दुई वर्षसम्म लगाउन मिल्ने म्याद भएकाले, म्याद कम भएका खोपहरू पहिला लगाउने भनेर यो खोप प्रयोग गरिएको छैन’‚ उनले भने।

किन खेर गइरहेको छ खोप
पछिल्लो समय नेपालमा कोरोना संक्रमण कम भएको हुँदा पनि खोप लगाउन मानिसले इच्छा कम देखाएको हुँदा खोप धेरै खेर जाने अवस्थामा पुगेको बताउँछन स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू। यस्तै हाल धेरै खोप स्थानीय तहमा गएको हुँदा  विवरण प्रणाली व्यवस्थित रूपले गर्न नसक्दा खोप खेर गएको र एकैपटक धेरै खोप आउँदा पनि खोप खेर जाने अवस्थामा पुगेको आपूर्ति शाखाका एक कर्मचारीले बताए। 'शुरुमा खोप पाइएन‚ पछि खोप पाइएका वेला हाम्रो खपत तथा भण्डारण क्षमता हेरेर ल्याउनुपर्ने थियो तर एकैपटक धेरै खोप ल्याइयो। यस बीचमा संक्रमण कम हुँदा धेरैले खोपप्रति इच्छा देखाएनन्। बुस्टर डोज लगाउनुपर्नेले पनि लगाएनन्, जसले गर्दा कम म्याद भएका खोप खेर जाने अवस्थामा पुगे।'

हालसम्म कति खोप आयो 

मोडर्ना, फाइजर, अस्ट्राजेनिका, कोभिसिल्ड,भेरोसेल, जनसन एण्ड जनसन खोप हाल नेपालमा प्रयोगमा ल्याइएको छ।

नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएदेखि हालसम्म ५ करोड ५५ लाख ८४ हजार ७७० मात्रा खोप नेपाल आएको छ। जसमा हालसम्म ४ करोड ७१ लाख ८‚२२९० मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् भने ८७ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन्। यस्तै ६६,१८,१९१ डोज बुस्टर डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.