काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन्।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्यलगायतका विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन्।
उनले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य लगायतका विधाहरू मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए। नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताए।
स्रष्टा र साधकहरूलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यस प्रकारको सम्मानले स्रष्टाहरूमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए।
‘भाषा, साहित्य, संस्कृति, इतिहासकला, संगीत एवं नाट्य लगायतका विधाहरू मुलुकका गहना हुन्। ती हाम्रा सभ्यता र संस्कृतिका धरोहर हुन्। ती हाम्रा राष्ट्रिय गौरवका विषय हुनुका साथै तिनले नै स्वदेश तथा विदेशमा नेपालको विशिष्ट राष्ट्रिय पहिचान बनाउन सघाउ पुर्याउँदै आएका छन्’, उनले भने।
स्रष्टाहरूप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा स्रष्टाहरूको अझ योगदान हुने विश्वास व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।