|

पर्सा : एकातिर मध्य बर्खामा पनि पानी नपर्दा, अर्कातिर सिँचाइ सुविधा नहुँदा मध्य तराईका किसानको धानको बीउ ब्याडमा नै सुकिरहेको छ। 

तीन तहका सरकारले सिँचाइ सुविधा उपलब्ध गराएर किसानलाई न्याय नगरेका कारण भगवानको न्यायको प्रतीक्षामा किसान बताउँछन्। 

पर्साको कालिकामाई गाउँपालिकाकी किसान महिला फूलमतीदेवीले पनि मल, बीउ र सिँचाइ सुविधाबाट हरेक वर्ष ठगिनु परेको गुनासो गरिन्। ‘यो पटक भगवानले पनि हामीलाई विर्सनु भए जस्तो छ’, उनले भनिन्, ‘वर्षात्मा समेत बाँझो खेत हेरेर बस्न बाध्य छौँ’, उनले भनिन्। 

धानको पकेट क्षेत्र मानिएको मध्य तराईको पर्सा, बारा र रौतहट लगायत मधेश प्रदेशका किसानले अघिल्ला वर्ष यो सिजनमा ७०÷८० प्रतिशत धान रोपिसकेका थिए। तर यो वर्ष भने अहिलेसम्म किसानको खेतमा धान रोपाइँ हुनु परको कुरा बीउ नैसुकेर पराल जस्तो भएको छ। जमिनबाट पानी निकालेर केही कठ्ठामा धान रोपेका किसानको धानखेतमा पनि धाँजा फाटेर खेत चिरैचिरा भएको छ। 

किसानका लागि मल, बीउ र सिँचाइको हरेक बर्ष समस्या हुने भए पनि तीन तहका सरकाले किसानलाई कहिल्यै प्राथमिकतामा नराखेको पर्साको कालिकामाई गाउँपालिकाको कटिबलुवाका किसान गुनासो गर्छन्। किसानका समस्यालाई बेवास्ता गरेर गाउँपालिकाले सीसीटीभी, गाडी र कम्यूटर तथा लोडर जस्ता सामान खरिदमा किनेको उनीहरूको आरोप छ। कालिकामाई गाउँपालिका–४कटी टोलका किसान पन्नालाल दास यो वर्ष भोकमरी खेप्नुपर्ने अवस्था आउनसक्ने बताउँछन्।

मध्य तराईको बारा, पर्सा र रौतहटका किसानको सिँचाइका लागि गण्डक नहरमा आउने भनिएको पानी पनि पर्याप्तमात्रामा आउन नसक्दा यो वर्ष विगतमा भन्दा पानीको समस्या बढेको कृषि ज्ञान केन्द्र पर्साका निमित्त प्रमुख मुनिलाल प्रसादले बताए। ‘गण्डक नहरको पानी पर्याप्त नहुँदा नहर दक्षिणका किसानको प्रायः सबै खेत बाँझै छ’, उनले भने, ‘साउन लागिसक्दा पर्सामा जम्मा ४० प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ। अघिल्ला वर्षमा ७० देखि ८० प्रतिशतसम्म रोपाइँं सकिन्थ्यो। 

जिल्लाको कुल रोपाईं हुने ४७ हजार ७ सय ३५ हेक्टर क्षेत्रफल खेत मध्ये अहिले रोपाइँ भएको कुल ४० प्रतिशतमा पनि गण्डक नहर दक्षिण तर्फ १० प्रतिशत मात्र रोपाई भएको उनको भनाइ छ। नहर उत्तर तर्फको खेतमा अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र रोपाइँ भएको ज्ञान केन्द्र पर्साका निमित्त प्रमुख प्रसादले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.