|

काठमाडौं : वैशाख ३१ निर्वाचन भएका २८१ स्थानीय तहमध्ये २४८ तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। २३ स्थानीय तहमा मतपेटिका संकलनको काम बाँकी रहेको तथा अन्य कारणले मतगणना सुरु नभएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।  

मतगणना ढिलो भएको गुनासो भैरहेका बेला आयोगले मतगणना छिटो गर्न प्रयत्नशील रहेको उनले जानकारी दिए। सचिव मैनालीका अनुसार मतगणना ढिलो हुनुका मुख्य ३ कारण छन्।  

१. ठूलो मतपत्र

स्थानीय तहको निर्वाचनमा एउटै पानामा ७ वटा मतपत्र छन्। एक मतदाताले आफ्नो स्थानीय तहको प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष, वडाअध्यक्ष र ४ जना वडा सदस्यलाई मतदान गरेका छन्। यसलाई अलगअलग गन्दा ढिला हुने गरेको सचिव मैनालीले बताए। ‘प्रक्रियागत जटिलता पनि छन्। प्रत्येक मतपत्र सबै दलका प्रतिनिधिलाई देखाउनुपर्छ र सबैको विश्वास आर्जन गर्नुपर्छ’, मैनालीले भने, ‘नागरिक, मतदाता र मिडियाको अपेक्षाअनुसार छिटो हुन नसकेकै हो। तर यो संवेदनशील विषयबस्तु भएकोले यसलाई सावधानीपूर्वक काम गर्नुपर्छ। सानो त्रुटि भए पनि विवाद निम्तन सक्छ। यसअर्थमा पनि ढिला भएको हो।‘ पहिलो पटक भिन्न प्रकृतिको निर्वाचनमा भिन्न प्रकृतिबाट एकै कागजमा ७ वटा मतपत्रमा मतसंकेत भएकाले गणना ढिलाई भएको उनको भनाई छ।

२. जनशक्तिको अभाव

निर्वाचन आयोगले मतगणना तीब्र बनाउन निर्वाचन अधिकृतहरुसँग छलफलमा रहेको जानकारी दिँदै मैनालीले महानगर र सदरमुकाममा थप जनशक्तिहरु व्यवस्थापन गर्ने तयारीमा रहेको बताए। ‘तर कतिपय गाउँपालिकाहरु र दुर्गम नगरपालिकामा समस्या छ। भर्खरै काभ्रेका केही मतगणना स्थलमा निर्वाचन अधिकृतसँग कुरा गर्दै थिएँ। थप जनशक्ति राख्न पनि जनशक्ति छैन’, उनले भने, ‘दुई समूहमा गणना गर्दा पनि ४ समूहको लागि चाहिने जनशक्ति चाहियो। पालो दिनुपर्‍यो, निदाउन पनि पर्‍यो। यो स्थिति भएकोले पनि ढिला भएको छ।‘ छिटो गर्ने नाममा त्रुटि गर्न नहुने भएकाले धैर्यता अपनाउन उनले आग्रह गरे। ‘यो संवेदनशील विषय भएको हुनाले छिटोको नाममा धेरै छिटो गर्नु हुँदैन। यसलाई निश्चित प्रक्रिया पूरा गर्न दिनैपर्छ। त्यो प्रक्रिया पूरा गरेन भने चुनावको वैधता पनि प्राप्त हुँदैन’, उनले भने।  

३. स्थानको अभाव

मतगणना छिटो गर्न जनशक्ति व्यवस्थापन पहिलो सर्त भए पनि मतगणना स्थलतमा पर्याप्त ठाउँको अभाव पनि अर्को समस्या हो। ‘पहिलो जनशक्ति नै हो। तर जनशक्ति भएरमात्र हुँदैन, ठाउँको पनि समस्या छ। मतगणना गर्ने हल कत्रो हुन्छ त्यसमा भर पर्छ’, मैनालीले भने, ‘अर्को भवनमा लगेर गन्न हुँदैन किनभने मतपेटिका जहाँ छ, त्यही भवनमा गन्नुपर्ने हुन्छ।‘ मैनालीले पोखरा लेखनाथ महानगरपालिकामा जारी मतगणनाको उदाहरण दिए। ‘त्यहाँ दुईवटा समूहमा मात्रै मतगणना भएको थियो। ठाउँ उपलब्ध हुन्छ भने ४/५ समूह पनि गणना गरौँ भनेर मुख्य निर्वाचन अधिकृतसँग भनेको थिएँ। तर ३ भन्दा बढी ठाउँमा गन्न ठाउँको अभाव भयो भन्नुभएको छ’, उनले भने, ‘यस्तो समस्या अन्यत्र पनि छ। काठमाडौं महानगरको पनि हेर्न जाँदै छु। ललितपुरमा २४ घण्टामा ५४ सय मत गनिएको छ। यही रुपमा जाँदा पनि केही दिन त लाग्ने भयो। यसलाई कसरी छिटो गर्न सकिन्छ भनेर हामी प्रयत्नशील छौँ।‘ 

निर्वाचन परिणाम छिटो घोषणा गर्ने गरी मतगणना गर्न जनशक्ति व्यवस्थापन लगायतका काममा लागिरहेकोले धैर्य गर्न उनले आग्रह गरे। ‘मतगणना संवेदनशील विषय हो। यसको दीर्घकालीन असर, चुनावको वैधता र निश्पक्षतालाई हेरेर गर्नुपर्छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.