|

काठमाडौं : बजेटमा करका दर हेरफेर प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बिहीबार प्रतिवेदन लेखनलाई अन्तिम रूप दिने तयारी गरेको छ। 

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित सो समितिको थपिएको म्याद आज सकिँदैछ। आज राति अबेरसम्म प्रतिवेदनको काम सकेर भोलि बुझाउने समितिले तयारी गरेको  समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। 

बिहीबार मध्याह्न साढे १२ बजे समितिको औपचारिक बैठक बस्दैछ। त्यसअघि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरूबीच अनौपचारिक छलफल हुने पनि बताइएको छ। औपचारिक र अनौपचारिक रूपमा छलफल भइरहेकाले सर्वसम्मत प्रतिवेदन बनाउने प्रयास भइरहेको सचिव अर्यालले बताए। 

थपिएको म्याद आज सकिने भएपछि हिजो लगातार ६ घण्टा समितिको बैठक बसेको थियो। मंगलबार नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट हेरेर विज्ञको सुझाव लिएको समितिले हिजोदेखि प्रतिवेदन लेख्न थालेको हो।

आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री शर्माले जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुई अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप छ। २२ असारमा गठन भएर एक सातापछि काम सुरु गरेको समितिले तोकिएको १० दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि साउन ५ मा ७ दिन म्याद थपिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.