|

दमक : तीन वटा प्रदेशमा निर्वाचन भएसँगै दोस्रो चरणमा निर्वाचन हुने जिल्ला झापाका स्थानीय पनि मत परिणाम सुन्न आतुर देखिएका छन्। दमकमा रहेका स्थानीय सर्वसाधरणदेखि पार्टीका नेता तथा कार्यकर्ताहरु एक ठाउँमा भेला भएर निर्वाचनको परिणाम सुन्न आतुर भएका हुन्। दमक–६ स्थित काजीको चिया पसल नामले परिचित चिया पसलमा स्थानीय नेतादेखि सर्वसाधरणसम्म भेला भएर मत परिणामको विषयमा छलफल गरिरहेका देखिन्छन्।

पसलका सञ्चालक काजी राउत भन्छन्, ‘मैले चिया पसल भए पनि टिभी र वाइफाई फ्री राखेको छु, त्यसैले सबैजना यहाँ आउनु हुन्छ र मत परिणामबारे जानकारी लिनुहुन्छ।’ प्रदेश नम्बर ३, ५ र ६ को मत परिणमको बारेमा जानकारी लिन आफ्नो पसलमा आउनेले मोबाइल, अनलाइन  र पसलमा रहेका टिभीबाट अपडेट लिइरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘मत परिणाम हेर्नका लागि एकै पटकमा १० देखि १५ जना आउनुहुन्छ, यसले गर्दा मेरो व्यपार पनि बढेको छ।’

उक्त चिया पसलमा आएका मोहन विकले समूहमा छलफल गरेर मतपरिणमको जानकारी लिँदा धेरै कुराहरु थाहा हुने बताए। उनले भने, ‘घरमा पनि टिभी त छ तर सबैसँग छलफल गरेर टिभी हेर्‍यो भने धेरै कुरा थाहा हुन्छ, यहाँ पत्रकारदेखि नेतासम्म आउँछन्, त्यसैले छलफल गर्नका लागि भए पनि यहीँ आएको हुँ।’

यहाँका जनता यो मतपरिणाम हेरेसँगै निर्वाचनमा मत खसाल्ने प्रतीक्षामा रहेको स्थानीय विपिन बस्नेत बताउँछन्। उनी भन्छन्, ‘हामीले रेडियो टेलिभिजन र विभिन्न अनलाइनमार्फत मतदानदेखि मत परिणाम सम्मको अपडेट हेरिरहेका छौं, हामी पनि भोट हामल्न आतुर छौं, हामी झन् नयाँ मतदाता त भोट हाल्दा कस्तो हुन्छ भन्ने अनुभव पनि लिन चहान्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.