|

बैतडी : बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई कारागार चलान गरिएको छ। जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए।

विसं २०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थीसहित चारजनाको खुकुरी प्रहार गरी हत्या गरेका भट्टलाई जेल चलान गरिएको उनले बताए।

सो दिन सदरमुकाम गोठलापानीबाट फर्किएको भनी अबेर भइसकेपछि बास बस्नका लागि अर्जुन अवस्थीको घरमा बसेको र सोही राति धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका चारजना सदस्यको हत्या गरेका बताइएको छ।

प्रहरीले ८० वर्षीय भट्टलाई सोमबार मात्रै घरमा आएका बेला पक्राउ गरी जेल चलान गरेको हो। जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० वर्षे कैद सुनाएको थियो।

भट्टलाई २० वर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो। जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ। 

बोकेर यताउता लैजानुपर्ने अवस्था रहेपनि कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायब उपरीक्षक शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.