|

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकामा मुचुल्का उठाएको बेलाको मतसंख्या भन्दा मतपेटिकामा १४ मत बढी भेटिएपछि मतगणना रोकिएको छ। बिहीबार बेलुकी ४ बजेबाट रोकिएको मतगणना शुक्रबार बिहानसम्म सुरु हुन सकेको छैन।

राजनीतिक दलहरुबीचको छलफल अनिर्णित भएपछि शुक्रबार बिहानका लागि पुनः बैठक बोलाईएको खैरहनी नगरपालिकाका निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिएका छन्। उनका अनुसार मुचुल्कामा खैरहनी वडा नम्बर ७ मा १ हजार ५९४ मत खसेको भनेर उल्लेख छ। तर मतगणनाका क्रममा १ हजार ६०८ मतपत्र रहेको पाईएको हो। मुचुल्कामा भन्दा १४ वटा मतपत्र बढी देखिएपछि नेपाली कांग्रेसले पुन मतगणनाको माग गरेको छ।

मतपेटिकामा भेटिएको मतपत्र र अर्धकट्टी भने बराबर भएको निरौलाले बताए। मतपत्र र अर्धकट्टी बराबर भएकोले पुनः मतगणनाको आवश्यकता नरहेको उनले बताए। सोही विषयमा भएको विवादले गर्दा मतगणना रोकिएको हो। अहिलेसम्म भएको गणनामा ६ वटा वडा मध्य २ वटा एमालेले जितेको र तीनवटा कांग्रेसले जितेको छ।

खैरहनीमा पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा एमालेको ४ हजार ४२५ मत छ भने कांग्रेसको ४ हजार २०२ र माओवादी केन्द्रको २ हजार ८५ छ। यस्तै उपप्रमुखमा एमालेको ४ हजार ३९३, कांग्रेसको ४ हजार ४१८  माओवादी केन्द्रका १ हजार ७५८ मत रहेको छ।

चितवनको माडी र ईच्छाकामनाको मतपरिणाम सार्वजनिक भएको छ भने अन्य ४ स्थानीत तहको मतगणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.