|

नुवाकोट : बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनी ट्रकले ठक्कर दिँदा एकजनाको निधन भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

गएराति महादेवफाँटस्थित सडक छेउमा रोकिएको बा २० च ९४४२ नंको कारबाट ओर्लिन लागेका दुईजनालाई मिनी ट्रकले ठक्कर दिएको हो। ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई  गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको भन्दै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा राति सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म चलिरहेको छ ।

ठक्कर दिने बा ३ ख १६४ नम्बरको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन्। चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए।

दुर्घटनापछि फरार भएको मिनी ट्रकलाई रोक्न बेवास्ता गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए । घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.