|

  • गोविन्द महतो-

जनकपुरधामः औषधि व्यवस्था विभागले जनकपुरका आठवटा औषधि पसलमा अनुगनपश्चात् शिलबन्दी गरेको छ। 

विभागको वीरगंजस्थित कार्यालयको एक टोलीले गरेको अनुगमनको क्रममा त्रुटि देखिएका तथा प्रतिबन्धित औषधि बिक्री वितरण गरिरहेको पाइएका जनकपुरका आठवटा औषधि पसलमा शिलबन्दी गरेको जनाएको छ।

विभागको अनुगमन टोलीले बिहीबार तथा शुक्रबार जनकपुर उपमहानगरपालिका– २ स्थित कृष्णा मेडिकल तथा अस्पताल रोडको सरिता फार्मेसी, माँ भगवती मेडिकल हल, एस.एन. मेडिकल हल, मनीष मेडिकल हल र नामविना सञ्चालनमा रहेको अजय यादवको औषधि पसलमा शिलबन्दी गरेको विभागका फार्मेसी सहायक दीपेन्द्रकुमार साहले जानकारी दिएका छन्।

यसभन्दा पहिले बुधबार विभागको टोलीले जनकपुरको पुलचोकस्थित जनसेवा मेडिकल हल र गायत्री मेडिकल हलमा शिलबन्दी गरेको थियो। जनकपुरको औषधि पसल अनुगमनमा रहेको विभागको टोलीले औषधि पसलको दर्ता, औषधिको म्याद, प्रतिबन्धित औषधिसहितको अनुगमन गर्दै आएको छ।

अनुगमनका क्रममा विना दर्ता सञ्चालनमा रहेको औषधि पसलसँगै केही औषधि पसलमा प्रतिबन्धित तथा म्याद समाप्त भएका औषधिसमेत बरामद भएकाले यस्ता प्रकारका औषधि पसलमा शिलबन्दी गरिएको विभागका फार्मेसी सहायक साहले जानकारी दिए। 

दर्ताविना नै औषधि पसलहरू सञ्चालनमा रहेको उजुरी परेपछि विभागले जनकपुरका औषधि पसलमा अनुगमन सुरु गरेको जनाएको छ। विभागका फार्मेसी अधिकृत विजय साहको नेतृत्वमा आएको सात सदस्यीय टोलीले पछिल्ला तीन दिनमा जनकपुरका चार दर्जनभन्दा बढी औषधि पसलको अनुगमन गरेको छ। 

विभागको टोलीले अनुगमन सुरु गरेपश्चात् जनकपुरका अधिकांश औषधि पसल बन्द देखिएका छन्। यता विभागद्वारा गरिएको अनुगमन नियमसंगत नभएको भन्दै औषधि व्यवसायीहरू आक्रोशित देखिएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.