|

बारा : मेरो मत मेरो भविष्य हो भन्दै नेत्रहीन युवा संघले मतदान गर्दा इच्छाइएको व्यक्तिद्वारा दिन पाउनुपर्ने व्यवस्थाको माग गरेको छ।

बाराको सिमरामा आयोजित अपांगता भएका व्यक्तिहरुको राजनीतिक अधिकार, सहभागिता र अपांगता मैत्री निर्वाचन प्रणाली, सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक जिल्लास्तरीय संवाद कार्यक्रममा उनीहरुले यो विषय उठान गरेका हुन्।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघका केन्द्रीय उपाध्यक्ष शिव चापागाइँले आसन्न निर्वाचनमा अपांगमैत्री मतदानको व्यवस्थाका लागि जोड दिए। उनले भने 'एकै घरमा पनि फरकफरक पार्टी/व्यक्ति माथि आस्था राख्नेहरू हुन्छन्। त्यस्तोमा मेरो मत एकाघरकै मार्फत दिलाउँदा मेरो चाहना विपरीत मत खस्नेमा दुई मत छैन। त्यसैले इच्छाइएको व्यक्तिद्वारा मत दिन पाउने व्यवस्था गरी अपांगता साथै विभिन्न कारणले स्वयं मत दिन नसक्नेहरुका लागि सहज र विश्वसनीय  वातावरण बनाइनुपर्छ।'

उनले आसन्न निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई राज्यका विभिन्न तहमा अवसर दिनुपर्नेमा समेत जोड दिए। नेपालको संविधानले प्रत्यायोजन गरेका कुरालाई व्यवहारिक नबनाइएको गुनासो चापागाईंको छ।

उनले आगामी निर्वाचनको आचारसंहिता निर्माण गर्दा अपांगता भएकालाई समावेश गरेर बनाउन, निर्वाचन पर्यवेक्षकका रुपमा समावेश गर्न, मतदान स्थलसम्म जाने आउने सवारीको व्यवस्था, प्रत्येक मतदान केन्द्रमा एकजना दोभासे राख्न, निर्वाचन आयोगका वेवसाइटहरुलाई अपांगमैत्री बनाउन सके अपांगले पनि सम्मानजनक मतदान गर्न तथा मत गणनाको स्थितिबारे समयमै जानकार हुने तर्कसहित कम से कम नमुनाका रुपमा भएपनि २/४ मतदान स्थललाई व्यवस्थापन गर्न सम्बन्धितमा आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.