|

रुपन्देही : दोस्रो चरणमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले तयारी थालेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै मतदाता शिक्षा पनि सुरु गरिएको छ। प्रत्येक मतदातालाई मत हाल्ने तरिका सिकाउन कार्यकर्ताहरु प्रत्येक मतदान केन्द्रमा खटिएका जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी दिए।

गौतमका अनुसार रुपन्देहीमा ५ सय ४३ मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकहरु खटिइसकेका छन्। प्रत्येक मतदान केन्द्रका लागि एकजना शिक्षा दिने व्यक्ति खटाइएको छ। नमुना मतपत्रका साथ कार्यकर्ताहरु खटिएर शिक्षा दिन थालेको निर्वाचन कार्यालय प्रमुख गौतमले जानकारी दिए।

रुपन्देहीमा मतदाता शिक्षा दिनका लागि ८१ लाख रुपैयाँ खर्च हुनेछ। जिल्लामा २ सय ८ मतदानस्थल र ५ सय ४३ मतदान केन्द्र रहेका छन्। मतदान केन्द्रको प्रभाव क्षेत्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ताले दैनिक २२ जनालाई मतदान गर्ने तरिका सिकाउने प्रमुख गौतमले जानकारी दिए।

मतदाता शिक्षाका लागि कार्यकर्ता नआएको भए उजुरी दिन उनले आग्रह गरेका छन्। ‘तपार्इंको घर, टोलमा आएका छैनन् भने वडा सचिव वा निर्वाचन कार्यालयमा उजुरी गर्नुहोस्-उनले भने।

रुपन्देहीका सबै १६ वटा तहमा मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवक मतदाता शिक्षा प्रदानका लागि खटिएको उनले बताए। ‘बिहान ११ जना र साँझ ११ जना गरी दैनिक २२ जनालाई मतदाता शिक्षा कार्यकर्ताले दिनेछन, गौतमले भने। 

रुपन्देहीका १६ वटा स्थानीय तहमा ४ लाख ५८ हजार ६ सय १६ जना मतदाता रहेका छन्। रुपन्देहीमा सबैभन्दा धेरै मतदाता बुटवल उपमहानगरपालिकामा ६६ हजार ९० र सबैभन्दा कम मतदाता ओमसतिया गाउँपालिकामा १६ हजार ९ सय ६८ जना मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.