|

बाग्लुङ : नेकपा मसालले स्थानीय चुनावमा नेकपा एमालेले धोका दिएको आरोप लगाएको छ। मसालको राष्ट्रिय जनमोर्चा र एमालेबीच प्रदेश नम्बर ४ को बाग्लुङ जिल्लाका १० मध्ये ८ स्थानीय तहमा चुनावी तालमेल भएको थियो। हेर्नुस् बाग्लुङका स्थानीय तहहरू

ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकामा अन्तिम समयमा आएर तालमेल हुन नसके पनि अन्य स्थानीय तहमा एमाले र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो। नेकपा मसाल जिल्ला समिति बाग्लुङका सेक्रेटरी उमेशले शनिबार जारी गरेको विज्ञप्तिमा 'जिल्ला तहबाट गरिएका सहमतिहरूलाई अन्य पक्षबाट उल्लङ्घन भएको' जनाएका छन्।

'जहाँ सहमतिको आधारमा उम्मेदवाहरूको संयुक्त प्यानल खडा गरिएको थियो, त्यहाँ पनि अन्य पक्षहरूबाट हाम्राविरुद्ध घात, अन्तरघात, भोट क्रसिङ सबै भए। जसले गर्दा जनमत भएर पनि हाम्रो पक्षमा केही स्थानमा आशातित परिणाम ल्याउन सकिएन', विज्ञप्तिमा भनिएको छ।

सबै स्थानीय तहमा चुनावी तालमेलको प्रयास भए पनि ढोरपाटन नगरपालिकामा एमालेले छुट्टै उम्मेदवारी दिएपछि बडीगाड गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले पनि अलगै उम्मेदवारी दिएको थियो।

जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गल्कोट नगरपालिका र निसीखोला गाउँपालिकामा प्रमुख/अध्यक्ष राष्ट्रिय जनमोर्चालाई जिताउने गरी तालमेल भएको थियो। यी स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो। बाग्लुङ नगरपालिकामा प्रमुख एमालेलाई, उपप्रमुख राप्रपालाई, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा प्रमुख/अध्यक्ष एमालेलाई र उपप्रमुख/उपाध्यक्ष रामजोलाई जिताउने गरी चुनावी तालमेल भएको थियो।

तर मत परिणाम हेर्दा बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिका बाहेकका स्थानीय तहमा चुनावी तालमेल फेल खाएको छ। काठेखोला गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने उपप्रमुखमा राजमोका उम्मेदवार विजयी भएका छन्। प्रमख एमालेलाई र उपप्रमुख राप्रपालाई तथा वडा नम्बर ३ को अध्यक्ष राजमोलाई दिने गरी तालमेल भएको बाग्लुङ नगरपालिकामा भने तालमेल अनुसार नतिजा आएको छ।

जैमिनी नगरपालिकामा उपप्रमुख एमालेका उम्मेदवारले जिते पनि प्रमुख भने कांग्रेसले जितेको छ। यहाँ एमालेले कांग्रेसलाई भोट हालेर अन्तर्घात गरेको राजमोको आरोप छ। यहाँ अध्यक्ष पदमा रामजोका उम्मेदवार नरबहादुर पुन कांग्रेसका उम्मेदवार इन्द्रराज पौडेलसँग १०६ मतले पराजित भएका छन्।

बरेङ गाउँपालिका उपाध्यक्षमा एमालेलाई राजमोले सघाउने भनिए पनि उसले उम्मेदवारी नै फिर्ता नलिएको देखिएको छ। यहाँ अध्यक्ष र उपाध्यक्षमा राजमोका उम्मेदवार विजयी भएकी छन्।

एमाले र राजमोको चुनावी तालमेल भए पनि गल्कोट नगरपालिका प्रमुख र उपप्रुमख दुबै कांग्रेसले जितेको छ। निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा पनि गल्कोटकै नतिजा दोहोरिएको छ।

ताराखोला गाउँपालिकामा भने चुनावी तालमेललाई फेल खुवाउँदै अध्यक्ष र उपाध्यक्ष दुबै पद माओवादी केन्द्रले जितेको छ।

जिल्लास्तरीय चुनावी तालमेल अस्वीकार गर्दै ढोरपाटन नगरपालिकामा एक्लै उम्मेदवारी दिएको एमालेले प्रमुख र उपप्रमुख दुबै जितेको छ। यता एक्लै उमेमदवारी दिएको रामजोले भने बडीगाड गाउँपालिकामा सफलता हात पार्न सकेन। यहाँ अध्यक्ष एमालेले जित्यो भने उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए।

'आफ्नालाई भोट हाल्ने तर राजमोलाई भोट नहाल्ने भयो', राजमोका एक जिल्लास्तरीय नेताले भने, 'चुनावी तालमेल मुख्यतः नेपाली कांग्रेसलाई हराउन गरिएको थियो। तर मसालको संगठन भत्काउनका लागि घुमाएर कांग्रेसलाई जिताइयो।'  

'हाम्रो इमान्दारीतामाथि खेलेर केही स्थानहरूमा हाम्रा उम्मेदवाहरूलाई हराउन तालमेलको बीचबाट जुन हरकतहरू भए त्यसको सही मूल्याङ्कन हुनेछ', मसालका जिल्ला सेक्रेटरीको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.