|

दमक : झापामा दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट  हाल्न आतुर देखिएका छन्। ३, ४ र ६ नम्बर प्रदेशमा स्थानीय तहका जनप्रतिनिधि चुन्ने निर्वाचन सम्पन्न भएसँगै पूर्व क्षेत्रमा पर्ने प्रदेश नं १ अन्तर्गतका जिल्लाका स्थानीय तहका मतदाता पनि निर्वाचनमा सहभागी हुन आतुर भएका हुन्।

प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन भएसँगै यहाँका जनताहरु निर्वाचन हुनेमा ढुक्क भएका छन्। पहिला निर्वाचन सरेपछि नहुने होकि भन्ने भएका मतदातामा अब भने निर्वाचन हुन्छ भन्ने ढुक्क भएको मतदाताले बताएका हुन्।

अब भने निर्वाचन सर्दैन भन्नेमा ढुक्क भएको मतदाता लोकनाथ लकान्द्री बताउँछन्। उनी भन्छन्, ‘पहिला त निर्वाचन हुँदैन कि भन्ने डर थियो तर अब यस्तो छैन, तीनवटा प्रदेशमा भयो अब हाम्रोमा पनि हुन्छ भन्नेमा हामी ढुक्क छौं।’ 

चौक, बजार, चिया पसलहरुमा निर्वाचनको विषयमा बहस सुरु भएको छ।  निर्वाचन भएको प्रदेशको मत परिणामका आधारमा उनीहरु अहिले कहाँ कसले जित्ने हो भन्ने आँकलन गर्न थालिसकेका छन्।

पहिलो पटक स्थानीय जनप्रतिनिधि चुन्ने हतारोमा रहेका दमक १० का नवराज न्यौपाने आफूलाई कहिले निर्वाचनमा भोट हालौं भन्ने हतारो भएको बताउँछन्। उनी भन्छन्, ‘अहिलेसम्म क्याम्पसमा स्ववियुमा भोट हाले पनि आफ्नै वडा र नगरका प्रतिनिधि चुन्ने अधिकारको पहिलो पटक सदुपयोग गर्न आतुर छु,।’ उनले मतदान कहाँ गर्ने भन्ने कुरा मतदाताको गोपनियताभित्र पर्ने भए पनि आफूलाई इच्छा लागेको उम्मेद्वारका पक्षमा खुलेरै आफू पनि मत हाल्न अरुलाई पनि मत हाल्न आग्रह गर्नमा पछि नपर्ने बताए।

पहिलो पटक मतदाताका रुपमा आफ्नो मताधिकार सदुपयोग गर्ने उस्तै हतारो सुनाइन् झापाको शिवसताक्षी नगरपालिका तथा साविक पाँचगाछी गाविसकी मतदाता हिरादेवी ताजपुरियाले। ताजपुरियाले मतदानका लागि आफू आतुर रहेको बताइन्। उनले पहिलो पटक मतदान गर्ने अवसरको रुपमा स्थानीय तह चुनावलाई आफूले सदुपयोग गर्न लागेको सुनाइन्। उनले भनिन्, ‘भोट हाल्न हतार लागिरहेको छ, हाम्रो निर्वाचन नसारेको भए यतिबेला हाम्रोमा पनि भइसक्थ्यो होला, तर पनि अब चाहिँ निर्वाचन सर्दैन भन्ने आशा छ।’

दमकको तत्कालीन वडा नं ३ का एमाले वडा कमिटी अध्यक्षसमेत रहेका युवा नेतृत्व नवीन बराल  यसअघि कहिल्यै स्थानीय चुनावमा मताधिकार सदुपयोग गर्न नपाएका अधिक मतदाता दमकको उत्तरी क्षेत्रमा आफ्ना प्रतिनिधि चुन्न आतुर रहेको बताउँछन्।  २०५४ सालयता स्थानीयस्तरमा जनप्रतिनिधि चुन्ने निर्वाचन नभएकाले  अहिले ३४/३५ वर्ष सम्मका कतिपय युवाहरुले पहिलो पटक मतदानमा भाग लिने भएका कारण युवा पुस्तामा चुनावी उत्साह धेरै देखिएको बराल बताउँछन्।

अहिलेका युवाले स्थानीय चुनावमा मतदाता मात्रै होइन उम्मेदवारकै रुपमा प्रस्तुत भएर मतदातासमक्ष उभिन खोजीरहेको अनुभूति आफूले गरिरहेको दमक १० का  युवा व्यवसायी पिताम्बर न्यौपाने बताउँछन्।

२०४८ र २०५४ सालको स्थानीय चुनावमा तत्कालिन माहाभारा गाविसको अध्यक्ष पदमा विजयी भइसकेका विजयकुमार अग्रवाल लामो समयपछि आफ्ना प्रतिनिधि चुन्ने अवसरको प्रतीक्षा र उत्साह  युवा पुस्तामा धेरै रहनु स्वाभाविक भएको बताउँछन्। यतिबेला झापामा उनी खुलेरै चुनाव प्रचारमा लागेका छन्। यस क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्ने हुने भएपछि केही सुस्ताएका दलहरु फेरि निर्वाचनको प्रचारमा लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.