|

भक्तपुर : चाँगुनारायण नगरपालिकामा अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणना स्थलमा शिलबन्दी गरिएको छ।

आज चाँगुनारायण नगरपालिका–४ को मतगणना सम्पन्न गरेर बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा मतगणना पारदर्शी नभएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि दिनभर मत परिणाम सार्वजनिक हुन सकेन।

नेपाली काँग्रेस, नेमकिपा र राप्रपाले मतगणनामा सहभागी कर्मचारी एमाले निकट रहेको र काँग्रेस तथा नेमकिपाको मत पनि एमालेमा गाभेर मतगणना गरेको भन्दै मतपरिणाम सार्वजनिक गर्न एवम् मतगणना गर्न नदिएको मतगणना स्थलमा रहनुभएका राप्रपाका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए।

तीनवटै दलको मतगणना स्थलमा रहेका कर्मचारी परिवर्तन गर्नुपर्ने र पुनः मतगणना गर्नुपर्ने माग राखेर अवरोध गरेको उनले बताए। यता एमालेले भने चाँगुनारायण नगरपालिका–१ र २ मा मतगणना भई काँग्रेसको विजयी हुँदा कुनै विवाद ननिकालेको तर वडा नं ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएपछि आत्तिएर विरोधमा उत्रिएको बताएको छ।

दिउँसो काँग्रेस, राप्रपा र नेमकिपाले नाराबाजी गरेपछि मतगणना भइरहेको कोठामा शिलबन्दी गरिएको प्रहरीले जानकारी दिएको छ। विवादले मतगणनामा रोकिएपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्लाका प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मालगायत सर्वपक्षीय छलफल भइरहे पनि समस्याको समाधान हुन सकेको छैन्।

प्रमुख जिल्ला अधिकारी पोखरेलले मतगणनामा विवाद निस्किएर मतगणना रोकिए पनि सर्वपक्षीय बैठक बसेर समाधान निकाल्ने प्रयत्न भइरहेको जानकारी दिए। छलफलबाट निकास निस्किए निर्वाचन आयोगले गर्ने निर्णयअनुसार अगाडि बढ्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.