काठमाडौं : यो वर्षको बहुप्रतीक्षित नेपाली फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ। सफल लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको 'ट्रेलर' सोमबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो।
रोमान्स कमेडी जनरामा बनेको फिल्ममा हरिवंश आचार्य र गौरी मल्लले बुढेसकालमा प्रेममा परेका पात्रको भूमिका निर्वाह गरेका छन्। उनीहरूको प्रेममा आउने उतारचढाव फिल्मको मुख्य विषयवस्तु रहेको ट्रेलरले संकेत गरेको छ। फिल्ममा हरिवंश र गौरी बाहेक मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली र सिरु बिष्ट लगायत कलाकारको मुख्य भूमिका रहेको छ।
‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ जस्ता व्यावसायिक रूपमा सफल फिल्मका लेखक तथा निर्देशक भट्टराईको यो चौथो फिल्म हो। उनका तीनवटै फिल्मले हलमा ५१ दिन मनाएका थिए। तीन वटै सफल फिल्म दिएका निर्देशकको निर्देशन रहेको र महजोडीको अभिनय रहेका कारण यो फिल्मलाई बहुप्रतीक्षित मानिएको छ।
म्याक्स दिपेश खत्रीको निर्माण, दीपक बज्राचार्यको छायांकन तथा मित्र डि गुरुङको सम्पादन रहेको फिल्मकात्तिक ११ गतेदेखि प्रदर्शनमा आउँदैछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।