|

बारा : गायब भएको, अपहरण भएको हल्ला चलाएर प्रहरीलाई दुःख दिएछन्, म त आफ्ना शुभचिन्तकहरुका साथ चुनावी छलफलमा थिएँ। भन्दै आश्चर्यजनक भाव पोख्दै थिइन् नेतृ नारायणी रायमाझी निरु।

पार्टीले योगदानको कदर नगरेको भन्दै बारा क्षेत्र नं. ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी कांग्रेस नेतृ रायमाझीलाई अपहरणको खबर पाएर खोज्न आएको भन्ने प्रहरीको भनाईले अचम्ममा पारेको हो।

बुधबार निर्वाचन अधिकृतको कार्यालयबाटै नेतृ रायमाझीको अपहरण भएको हल्ला चलाएर प्रहरी परिचालन गरेको खबरले जीतपुरसिमराको चुनावी माहोललाई थप ततायो। यो खबरले स्थानीय मिडियामा राम्रै चर्चा पनि पायो।

सत्ता गठबन्धनको सहमति विपरीत प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी रायमाझीलाई उम्मेदवारी फिर्ता लिन गठबन्धनका दलले दबाब दिँदै आएका थिए। रायमाझीले उम्मेदवारी फिर्ता नलिने चाल पाएपछि अन्तिम समयमा अपहरणको संज्ञा दिँदै प्रहरी नै परिचालन गरेर थप दबाब दिने प्रयास भएको हो।

सिमरास्थित होटल इच्छामा बसिरहेकी रायमाझीलाई जीतपुरसिमरास्थित निर्वाचन अधिकृतको कार्यालयमा बोलाएको भन्दै प्रहरी लिन पुगेका हुन्। ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाको नेतृत्वमा पुगेको प्रहरी टोलीले रायमाझीलाई निर्वाचन कार्यालय हिँड्न अनुरोध गरेका थिए।

प्रहरीले अपहरणमा परेको सूचना आएकाले लिन आएको र निर्वाचन कार्यालयमा हाजिर गराउनु पर्ने जिम्मेवारी आफ्नो भएको  बताएका थिए। तर रायमाझीले आफू अपहरणमा नपरेको र आफ्नो शुभेच्छुक माझ रहेकोले निर्वाचन अधिकृतको कार्यालय नजाने अडान लिएपछि होटलको स्थिति केहीबेर तनावग्रस्त बनेको थियो।

यसअघि एकीकृत समाजवादीका एक नेताले कांग्रेसले केन्द्रीय सदस्य बनाएको भन्दै रायमाझीलाई निर्वाचन अधिकृतको कार्यालय लगेर झुक्याउँदै उम्मेदवारी फिर्ता गर्ने फारममा हस्ताक्षर गराएका थिए। स्रोतले भन्यो ‘पछि थाहा पायौँ झुक्याएर उम्मेदवारी फिर्ता लिने फारममा हस्ताक्षर गराएको रहेछ।’

रायमाझीलाई झुक्याएर हस्ताक्षर गरेको थाहा पाएलगत्तै उनका समर्थक जीतपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। निर्वाचन कार्यालयबाट रायमाझीलाई समर्थकले फर्काएर लैजान खोज्दा प्रहरीले रोकेका थिए।

समर्थकलाई रोकेपछि अन्तिम समयमा रायमाझीका छोराले उनलाई फर्काएर सिमरा स्थित इच्छा होटल लगेका थिए। रायमाझीले उम्मेदवारी फिर्ता नलिने निष्कर्षमा पुगेपछि गठबन्धन दलले सत्ताको दुरुपयोग गर्दै अपहरणको नाम दिएर अन्तिम समयमा प्रहरी परिचालन गरेको हो।

निर्वाचन कार्यालयमार्फत प्रहरीलाई फोन गराएर रायमाझीको अपहरण भएको र तत्कालै निर्वाचन कार्यालयमा उपस्थित गराउन भनेपछि प्रहरी रायमाझीलाई खोज्न पुगेका थियो।

उम्मेदवारी फिर्ता गराउन झुक्याएर हस्ताक्षर गराएपनि मनोनयन दर्ता गर्दा निर्वाचन कार्यालयले दिने निस्सा फिर्ता नगरेका कारण रायमाझीको उम्मेदवारी कायम रहेको र उनी जेब्रा चुनाव चिन्ह लिएर फर्किएकी उनका श्रीमान्‌ले जानकारी दिए।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.