|

काठमाडौं : नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँड्न सवा दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ। निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तीय संस्था तथा सरकारसँगको ३६ अर्ब रुपैयाँ ऋण तिरेर खुद मुनाफा कमाएपछि बोनस बाँड्न रकम छुट्याएको हो।

निगमले शेयरधनीलाई पनि करिब साढे १४ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएको छ। निगम साधारणसभाले आर्थिक वर्ष ०७२\७३ सम्म कर्मचारीलाई बोनस वितरण गर्न विनियोजन गरिएको दुई अर्ब २६ करोड १७ लाख ६१ हजार रुपैयाँ अनुमोदन गरेको छ। साधारणसभा शुक्रबार सम्पन्न भएको हो।

बोनस ऐनमा संस्थान नाफामा गएपछि कर्मचारीले कुल नाफाको छ प्रतिशत वा तीन महिनाको तलबबराबरको बोनस खान पाइने व्यवस्था छ। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र ग्यास) बेचेर नाफा कमाएको हो। निगम नाफामा गएपछि बोनस खाने बाटो खुलेको हो।

खुद नाफाको छ प्रतिशतले हुन आउने रकम बोनसका लागि विनियोजन गरिएको निगमका निमित्त नायबप्रबन्ध निर्देशक नागेन्द्र शाहले बताए। 'ऐनमा भएको व्यवस्थाअनुसार बोनसका लागि रकम छुट्याएका हौं', उनले भने।

 निगमले चालू आर्थिक वर्ष ०७३र७४को ११ महिनामा करिब १० अर्ब रुपैयाँ नाफा कमाइसकेको छ। अहिलेको बोनसमा सो नाफाबाट आउने रकम जोडिएको छैन। निगमले कर्मचारी बोनसका लागि आर्थिक वर्ष ०७१\७२ मा ९० करोड २५ लाख, गत आर्थिक वर्षमा एक अर्ब ३६ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको थियो। आर्थिक वर्ष ०६५\०६६ मा पनि १९ करोड ८८ लाख रुपैयाँ बोनस रकम छुट्याइएको भए पनि त्यसयता निगम निरन्तर घाटामा रहेकोले सो रकम पनि निगमकै बोनस खातामा थन्किएर बसेको थियो। बोनसका लागि रकम छुट्याइए पनि कुन मोडालिटीमा वितरण गर्ने भन्ने खुलाएको छैन।

निगम उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा उठाएको रकमबाट तिरेर ऋणमुक्त भएको हो। आर्थिक वर्ष ०७१\७२ मा पूर्वाधार शीर्षकमा संकलन गरेको १४ अर्ब ७८ करोड रुपैयाँ, ०७२\७३ को २१ अर्ब ८८ करोड गरी कुल ३६ अर्ब ६६ करोड रुपैयाँ रकमान्तर गर्दै ऋण तिरेपछि निगम नाफामा गएको थियो।

नाफामा गएर बोनसका लागि रकम जम्मा गरे पनि तत्काल बोनस नबाँड्ने निगमका अधिकारी बताउँछन्। निगमलाई सक्षम संस्थाको रुपमा स्थापित गरेपछिमात्र सरकारकै निर्णयअनुसार अघि बढ्ने निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए। 'निगम कर्मचारीको चुस्त व्यवस्थापनका कारण नाफामा गएको हो', पोख्रेलले भने, 'अहिले नै बोनस खाइहाल्ने कुनै निर्णय भएको छैन।'

निगमले अहिले कमाएको नाफा पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको जनाएको छ। सरकारी स्वामित्वमा रहेका संघसंस्था, प्रतिष्ठानमा कुल सञ्चित नाफामा गएपछि छ प्रतिशत बोनस खान पाइने व्यवस्थालाई टेकेर निगमले बोनसका लागि रकम विनियोजन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.